कुन जिल्लाबाट कति बन्दकर्ता प्रकाउ परे ? (हेर्नुहोस् सबै विवरण सहित)


 


काठमाडौं, साउन ३१

नेकपा–माओवादी (बैद्य पक्ष) लगायत ३३ राजनैतिक दलद्वारा संविधान मस्यौदाका विभिन्न विषयको विरोधमा आव्हान गरिएको नेपाल बन्दको आइतबार देशका  धेरै ठाउँ प्रभावित बने । कतै झडप त कतै सवारी साधन तोडफोड भयो । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार १ सय १७ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले काठमाडौंबाट ९८, ललितपुरबाट ८, कास्कीबाट ३, मोरङबाट ३, झापाबाट १ र मकवानपुरबाट ४ जनालाई नियन्त्रणमा लिएको छ ।बन्दकर्ताले काठमाडौं कोटेश्वरमा बा १ ज ७१९६ नम्बरको ट्याक्सी तोडफोड गरी क्षति पुर्‍याएका छन् भने तीनकुने गणेशमन्दिर नजिक भक्तपुर­रत्नपार्क चल्ने बा २ ख ३६४४ नम्बरको बसको तोडफोड गरेका छन् ।

बन्दकर्ताले धापासी हाईटमा ढुंगा प्रहार गरी बा१ख ८८४५ नम्बरको माईक्रोबसको र एयरपोर्ट गेट अगाडि बा१ख ५६०२ नम्बरको बसको सिसा फुटाएका छन् ।  बन्दकर्ताहरुले वीरगंज उपमहानगरपालिका–१६ स्थित सुख्खा बन्दरगाह(भन्सार) कार्यालयको बा१ग २२६० नम्बरको मिनि बसको सिसा तोडफोड गरेका छन् ।

यस्तै विराटनगर–१४ स्थित बुधहाट चोकमा सिआरभि घोगापुलको ना१झ ८६२ नम्बरको पिकअप गाडीको अगाडिको सिसा तोडफोड गरेका छन् । तोडफोडमा संलग्न बिराटनगर­१७ बस्ने ३६ वर्षीय अजय मिश्र लगायत २ जना संघीय समाजबादी फोरम नेपालको कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिर्तामोडबाट कोईला लिई भद्रपुरतर्फ जाँदै गरेको ना२ख ८३६१ नम्बरको ट्रकलाई भद्रपुर नगरपालिका­१४ स्थित पेट्रोल पम्प छेउमा २ जना अपरिचित ब्यक्तिले ढुङ्गा प्रहार गरी अगाडिको सिसा फुटाई फरार भएका छन् । साथै मोरङ टंकी­४ स्थित गङ्गा चोकमा संघीय समाजवादी फोरमका भातृ संगठन समाजवादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष महेशकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बन्दकै क्रममा ढुंगा प्रहारबाट मकवानपुर हेटौडा उपनगरपालिका–१० स्थित राजमार्गमा बीरगंजबाट चितवनतर्फ जाँदै गरेको ना५ख ६६६४, ना४ख ४८८७ र ना२ख १२७९ नम्बरको ट्रकको सिसा बन्दकर्ताले फुटाएका छन् । मकवानपुरमै राम मन्दिरमा रोकी राखेको ना ३ ख ६५४८ नम्बर र एचआर५५टी० ५२४  नम्बरको ट्रकको समेत ५ वटा ट्रकको सिसा फुटेको छ । प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

कोहलपुर नगरपालिका­१० गोल्छा स्थित कोहलपुरबाट दाङतर्फ जाँदै गरेको ना २ च १३१७ नम्बरको नागरीक दैनिक पत्रिकाको जिपलाई बन्दकर्ताहरुले ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा सामान्य चर्किएको र बम्पर कुच्चिएर क्षति भएको छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्