अब ‘पाँच विकास क्षेत्र’ को पाँच प्रदेश !


 


काठमाडौं, साउन ३२

मधेसलाई पहाडसँग अभिन्न राख्नुपर्ने माग मधेसबाटै आउन थालेपछि शीर्ष नेतृत्व तहमा पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउनेबारे छलफल सुरु भएको छ। ६ प्रदेशको सीमांकनमा देशभरिबाट विरोध र असन्तुष्टिका स्वरहरू चर्किन थालेपछि सबैको चित्त बुझाउने गरी परिमार्जन गर्न चार दलका नेताहरूलाई दबाब परेको हो।

सप्तरीदेखि पर्सासम्म सीमांकन गरिएको दोस्रो प्रदेश सामर्थ्य का दृष्टिकोणले कमजोर भएको र त्यसमा पहाड मिलाउनुपर्ने माग मधेस केन्द्रित नेतृत्व र स्थानीय बुद्धिजीवीसमेतबाट आउन थालेपछि शीर्ष नेताहरू पाँच विकास क्षेत्रबारे सकारात्मक देखिन थालेको स्रोतले उल्लेख गर्‍यो।

‘मधेसलाई पहाड चाहिने भएपछि हिमाल, पहाड र तराई जोडिएको पाँच विकास क्षेत्रलाई प्रदेश बनाउने कि भन्नेमा शीर्ष नेतृत्वबीच छलफल चलेको छ’, स्रोतले बताएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । तराईले पनि पहाड माग गरेपछि कांग्रेस र एमालेका नेताहरूले पाँच विकास क्षेत्रमै जान शीर्ष बैठकमा प्रस्ताव गरेको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

‘मधेसले पहाड मागेको हो वा चुरेसम्म मात्र खोजेको हो भन्ने विषयमा मधेस केन्द्रित दलका नेता र स्थानीय बुद्धिजीवीसँग वार्ता गरौं भनेर हामीले प्रस्ताव राखेका छौं,’ श्रेष्ठले भने। फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले मुलुकको वस्तुस्थिति र आर्थिक सम्भाव्यता हेरेर प्रदेशको माग गर्नुपर्ने मधेसबाटै आवाज उठेको बताए।

‘६ प्रदेशको सीमांकनमा हिजो गच्छदारले मधेस छोड्यो भन्दै गाली गर्ने मधेसका ठूला नेता भन्नेहरू आज मधेस मात्रले प्रदेश धान्दैन भन्न थालेका छन्,’ उनले भने, ‘मधेस प्रदेश प्राप्त भएपछि चल्दैन भनेर बुझ्नु राम्रो हो।’ पर्सादेखि सप्तरीसम्मको प्रदेशमा ९० प्रतिशत मधेसी बाहुल्य भए पनि महाभारत, पहाड र चुरे क्षेत्रको स्रोत चाहियो भनेर बुझ्नु सकारात्मक भएको उनले बताए।

प्रकाशित मिति: ३२ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्