अब लालपुर्जा स्मार्ट कार्डमा


 


काठमाडौं, साउन ३२

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले यही भदौभित्र देशका विभिन्न १६ मालपोत कार्यालयलाई अनलाइन सेवा प्रणालीमा लाने तयारी अन्तिम चरणमा पु¥याको छ। अनलाइन प्रणाली सुरु भएपछि सर्वसाधारणले फाँट चाहारेर काम गराउनु पर्ने झन्झट समाप्त हुनेछ।

अनलाइन सेवामार्फत सेवालाई डिजिटलाइज गर्दै विस्तारै केही समयपछि जग्गाधनी प्रमाणपूर्जालाई समेत डिजिटल बनाउने  योजना रहेको मन्त्रालयले जनाएको छ । अहिले पानीले हत्तपत्त नगल्ने, हत्तपत्त नच्यातिने र नख्इलिने विशेषताको नेपाली कागजमा जग्गाधनी प्रमाणपुर्जा अर्थात् लालपुर्जा वितरण हुँदै आएको छ।

मेसिनले पढ्न सक्ने सानो चिप्स(मेमोरी)मा नै सम्पूर्ण विवरणहरु अँटाउने भएपछि एक हात लामो लालपुर्जा बोकेर हिँड्ने झण्झटबाट नेपाली मुक्त हुनेछन्। ‘निकट भविष्यमै लालपुर्जालाई पनि डिजिटल बनाउने योजनामा हामी अघि बढिरहेका छौं,’ भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले भने, ‘कोरिया लगायत विश्वका थुप्रै विकसित राष्ट्रहरुले भू–स्वामित्वको प्रमाण पुर्जालाई डिजिटल स्मार्ट कार्डमा बदलिसकेका छन्। हामी पनि त्यो दिशातर्फ अग्रसर छौं।’

सूचना प्रविधि तथा डिजिटलाइजेशनलाई स्वीकार्दै कार्यान्वयमा ल्याउनुको विकल्प नरहेको उनी बताउँछन्। ‘यसले सेवा प्रदायकको काम गर्ने तौरतरिका र सेवाग्राहीलाई सुविधा थप्छ।’

यो पनि पढ्नुहोस्

कुन-कुन मालपोत कार्यालय अनलाइनमा जाँदैछन् ? (हेर्नुहोस् सबै विवरण)

प्रकाशित मिति: ३२ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्