बेरोजगारीको यस्तो तस्बिर !


 


berojgarकाठमाडौं, भदाै ६

तीन साताअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले १ सय ४८ नयाँ कर्मचारी नियुक्त गर्न  दरखास्त आह्वान गर्यो ।  खुला प्रतिस्पर्धाबाट पूर्ति गरिने यो संख्यामा जागीर खान करिब २८ हजारले अावेदन दिएका छन् ।  निगमले सहायक स्तरदेखि अधिकृत स्तरसम्म कर्मचारी पदपूर्ति गर्न लागेको हो।

प्रशासन अधिकृत तहमा २४ जना, वरिष्ठ सहायकमा १८, सहायक ५६, लेखा अधिकृत २३, वरिष्ठ लेखा सहायक ६ र लेखा सहायकमा २१ गरी १ सय ४८ जना पदपूर्ति गरिने छ। अधिकृत तहमा दरखास्त बुझाउन स्नातक वा सो सरहको शैक्षिक योग्यता, वरिष्ठ सहायक र सहायकका लागि प्रमाणपत्र वा सो सरह तथा सहायक पदका लागि एसएलसी शैक्षिक योग्यता तोकिएको छ। अन्य सरकारी संस्थानभन्दा वायुसेवा निगममा जागीरमा आकर्षण बढी हुने गरेको छ।

यहाँका कर्मचारीले निगम जाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यका लागि वर्षेनि निःशुल्क हवाई टिकट पाउने गरेका छन्। यस्तो सुविधा कर्मचारीका परिवारले समेत पाउने गरेका छन्।

‘निगममा जागीर खान ठूलो संख्यामा दरखास्त प्राप्त हुनु भनेको निगमप्रति सबैको चासो र लगाव देखिनु हो,’ निगमका प्रवक्ता रामहरी शर्माले भने, ‘यसबाट बेरोजगारीको अवस्था पनि छर्लंग हुन्छ। निगमका अनुसार प्रशासन र लेखा अधिकृत दुवैमा परेको कुल ५ हजार ४ सय ९९ थान दरखास्तबाट प्रतिथान ७ सयका दरले ३८ लाख ४९ हजार ३ सय रुपैयाँ प्राप्त भएको छ।

त्यसैगरी दुवै समूहको वरिष्ठ सहायकमा परेको कुल ६ हजार ६ सय ७७ दरखास्तबाट प्रतिथान ५ सयका दरले ३३ लाख ३८ हजार ५ सय रुपैयाँ प्राप्त भएको छ। त्यस्तै प्रशासन र लेखा सहायक दुवैमा परेको कुल १२ हजार ३ सय ७५ थान दरखास्तबाट प्रतिथान ५ सयका दरले ६१ लाख ८७ हजार ५ सय रुपैयाँ प्राप्त भएको छ।

यसबाट निगमले कुल १ करोड ३३ लाख ७५ हजार ३ सय रुपैयाँ आम्दानी गरेको छ। यसमा थप प्रत्येक समूहमा दरखास्त बुझाउनेको हिसाब जोडिएको छैन। हाल निगममा करिब १ हजार ३ सय कर्मचारी कार्यरत छन्।

प्रकाशित मिति: ६ भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्