टिकापुरमा यी प्रहरीलाई कायरतापूर्वक हत्या गरियो


 


काठमाडौै, भदाै ८

थरुहट/थारुवान स्वायत्त प्रदेश पक्षधर आन्दोलनकारीले सोमबार दिउँसो टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ अधिकृतसहित सात सुरक्षाकर्मी र एक नाबालकको कायरतापूर्वक ज्यान लिए । घटनामा २० प्रहरी, २१ सशस्त्र बल घाइते छन्। तीमध्ये सशस्त्रका ३, प्रहरीका दुई गम्भीर छन्।

मारिनेमा सेती अञ्चल प्रहरी कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, प्रहरी जवान लोकेन्द्र चन्द र लक्ष्मण खड्का छन्। यसैगरी, सशस्त्र प्रहरी हवल्दार ललित साउद र सहायक हवल्दार रामबिहारी चौधरीको पनि आन्दोलनकारीको आक्रमणबाट ज्यान गएको छ।

सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्रबहादुर साउदका दुई वर्षीय छोरा टेकेन्द्र साउद घरमै बसिरहेका बेला आन्दोलनकारी प्रवेश गरी हत्या गरेको प्रजिअ रामकुमार श्रेष्ठले जानकारी दिए। प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्ने क्रममा आन्दोलनकारीलाई सम्झाउँदा–सम्झाउँदै न्यौपाने उनीहरुको घेरामा परेको प्रत्यक्षदर्शीले जनाए।

उनीहरुका अनुसार प्रहरीलाई उनीहरुले भाला, बन्चरो, हँसियालगायत घरेलु हतियारले प्रहार गरी ज्यान लिएका थिए। चौधरीलाई जिउँदै जलाइएको प्रजिअ श्रेष्ठले जानकारी दिए। थरुहट पक्षधरले आफूतर्फ तीन जनाको मृत्यु भएको जनाए पनि नाम खुलाएका छैनन्।

घाइते प्रहरी र सशस्त्र प्रहरीको टीकापुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका २ र सशस्त्र प्रहरीका ३ जना गम्भीर घाइते रहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए।

प्रकाशित मिति: ८ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्