पर्सा र बारामा ५ जना प्रदर्शनकारीको मृत्यु, वीरगञ्ज दङ्गाग्रस्त क्षेत्र घोषित


 


वीरगञ्ज, भदौ १५

पर्सा र बारामा मङ्गलबार प्रहरी र आन्दोलनरत मधेसवादी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर ५ जनाको मृत्यु भएको छ। पर्साको वीरगञ्जमा ४ र बाराको कलैयामा एक जना प्रदर्शनकारी मारिएका हुन्। यो सहित वीरगञ्जमा मारिनेको सङ्ख्या ५ पुगेको छ।

अपरान्ह वीरगञ्जको राधेमाईमा प्रहरीले चलाएको गोली लागेर पर्सा मनियारी, भवानीपुरका ३० वर्षीय धर्मराज सिंहको मृत्यु भएको हो। सिंहको टाउकोमा गोली लागेको थियो।

लक्ष्मवनामा भएको झडपमा बहुअरी नौतनका २७ वर्षका दिनानाथ साह र भोला साहको मृत्यु भएको नेशनल मेडिकल कलेजले जनाएको छ। नगवामा भएको झडपमा सोहन साह कलवारको मृत्यु भएको छ। उनको उपचारको क्रममा मृत्यु भएको हो।

आन्दोलनकारीले स्थानीय प्रहरी चौकी कब्जा गर्न खोज्दा भिडन्त भएको थियो। सोमबार साँझ पनि राधेमाईमा प्रहरीले चलाएको गोलीबाट मनियारीकै दिलिप चौरसियाको मृत्यु भएको थियो।

उता बाराको सदरमुकाम कलैयाको भरतचोकमा निषेधित क्षेत्र तोड्ने क्रममा प्रदर्शकारी र प्रहरीबीच झडप हुँदा कलैया रङ्गपुरका २६ वर्षीय हिफाजत मियाँको ज्यान गएको छ। प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो। बारा र पर्सामा गोली लागेर घाइते हुनेको सङ्ख्या ३० भन्दा बढी पुगेको छ।

वीरगञ्जमा लगाइएको अनिश्चतकालीन कर्फ्युको अवज्ञा गरी आन्दोलनकारीले प्रदर्शन तीव्र पारेपछि स्थानीय सुरक्षा समन्वय समितिले  वीरगञ्जलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको बताए।

गाउँगाउँमा प्रदर्शन हुन थालेपछि जिल्लाको ग्रामीण क्षेत्रका प्रहरी युनिटहरु सदरमुकाम वीरगञ्जमा सारिएको छ। प्रदर्शनकारीले मङ्गलबार एक दर्जनभन्दा बढी प्रहरी युनिटमा आगजनी गरेका छन्।

चार ओटा मोटरसाइकलमा आगो लगाएका छन्। वीरगञ्ज–पथलैया करिडोरको परवानीपुरमा रोकिराखिएको ट्रकमा आगो लगाइएको छ। उनिहरुले वीरगञ्जको आन्तरिक राजश्व कार्यालयमा आगजनी गरेका छन्। कार्यालयका ३ ओटा गाडी र कागजातमा आगो लगाएका छन् ।

 

प्रकाशित मिति: १५ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्