टीकापुर घटनापछि यस्तो छ प्रहरीको नयाँ रणनीति


 


काठमाडौ, भदौ १५

प्रहरीले भीड तथा प्रदर्शन नियन्त्रणमा खटिने प्रहरीका लागि आन्तरिक सर्कुलर जारी गर्दै भीडको मनोविज्ञान र भीडवाट हुन सक्ने आक्रण विश्लेषण गर्न निर्देशन दिएको छ । टीकापुरमा आन्दोलनका नाममा भएको हिंसात्मक भीडले प्रहरी वरिष्ठ उपरिक्षक सहित आठ प्रहरीको ज्यान लिएपछि नेपाल प्रहरीले नयाँ रणनीति बनाएर मातहतका सम्पूर्ण युनिटमा परिपत्र गरी निर्देशन जारी गरेको हो ।

भीडले हिंसात्मक रुप लिएका वेला गोली चलाउन माथिल्लो निकायको आदेश लिनु पनर्ने, भीड नियन्त्रणमा खटिने प्रहरीले भीडको मनोविज्ञान, भीडबाट हुनसक्ने आक्रमण र गोली हान्ने अवस्था लगायत सम्पूर्ण अवस्थावारे ब्रिफिङ्समेत गरेको छ । शान्तिपूर्ण आन्दोलन भनेर प्रहरीलाई आस्वस्त पारी हतियारसहितको प्रदेर्शन हुने र हिंसात्मक आक्रमणगरी भीड अघि बढ्दा पनि प्रहरीले भने सम्झाउने बुझाउने मात्रै गर्दा टीकापुरमा क्षति ब्यहोर्नु परेको प्रहरीको बुझाई छ ।

शान्तिपूर्ण आन्दोलनको आश्वासनको विश्वासमा परेर वरिष्ठ प्रहरी अधिकारी मारिंदा समेत प्रतिकारको तयारी हुन नसकेको भन्दै भीडवाट हुनसक्ने आक्रमणको पूर्वसूचना लिने र मनोविज्ञान बुझेर अघि बढ्ने तयारी प्हरीले गरेको हो । कुनैपनि व्यक्ति माथि आक्रमणको अवस्थामा त्यसको प्रतिकार गर्दा कानुन आकर्षित नहुने भए पनि आन्दोलनकारीमाथि प्रहरी बढी विश्वासमा रहेर  आफैं मारिने अवस्थामासमेत गोली चलाउन नसकेको विश्लेषणसाथ नयाँ निर्देशन दिएको हो ।

‘टीकापुरमा सर्वपक्षीय वैठकमा भएको सम्झौतामाथि विश्वास गरेर प्रहरीले प्रदर्शनलाई सामान्य लियो’ प्रहरी प्रवक्ता कमलसिंह बमले भने, ‘प्रहरी भुक्किएको त्यहीबाट हो । अब त्यस्ता समझदारीहरुलाई पनि सामान्य रुपमा लिन नहुने टीकापुर घटनाले सिकाएको छ ।’

टीकापुरमा थरुहटका नाममा भैरहेको प्रदर्शनमा एक्कासी भीडबाट गोली र घरेलु हतियार सहित प्रहरीको हत्या गर्ने उद्देश्यले आक्रमण भएपछि प्रहरीले नयाँ रणनीति बनाएको हो  । प्रहरीले भीड नियन्त्रणका लागि लाठी, अश्रुग्यास र भीड नियन्त्रणमा नआए अन्त्यमा गोली हान्नसक्ने अभ्यास गर्दै आए पनि भीड नियन्त्रणलाई सामान्य रुपमा लिएर कमजोरी भएको विश्लेषण गरेको छ ।

‘भीड नियन्त्रण गर्न एकै पटक गोली नै चलाउनेगरी प्रहरी जाँदैन’ प्रहरी प्रवक्ता बलमे भने, ‘पहिलो प्रयास त सम्झाउने नै हुन्छ । त्यसपछि पनि कन्ट्रोल नभए लाठी र अन्तिम अवस्थामा मात्र गोली हान्ने हो ।’

प्रहरीले आत्मरक्षाका लागि गोली चलाउन कुनै पनि आदेश लिनु नपर्ने कानुनमै व्यवस्था भए पनि टीकापुरमा प्रहरीले क्षति वेहोर्नुलाई गम्भीर रुपमा लिइएको प्रवक्ता वमले बताए ।  ‘त्यस्तो अवस्थामा कुनै पनि प्रहरी जवानले आदेश कुर्नु पर्दैन ।

गोली चलाउने अधिकार प्रहरीलाई कानुनले नै प्रदान गरेको छ । आदेश भएन भन्नु गलत हो’ बमले भने । संवेदनशील र अन्तिम अवस्थामा गोली प्रहार गर्न आदेश लिइरहनु नपर्ने ब्यवस्था कानुनमै भएको कुरालाई स्मरण गराउँदै भीडलाई सामान्य रुपमा नलिई परिचालित हुन परिपत्र गरिएको उनले बताए ।  ‘कानुनमै भएको कुरालाई स्मरण गराइएको हो’ वमले भने ।  स्रोत चक्रपथ

प्रकाशित मिति: १५ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्