शिक्षककै उत्तरपुस्तिकामा पैसा र चेक


 


teacherकाठमाडौं, भदौ २२

एसएलसी दिने विद्यार्थीले उत्तरपुस्तिका पैसा राख्ने प्रचलन नौलो होइन । तर, तिनै विद्यार्थीलाई पढाउने शिक्षकले समेत आफूलाई पास गराइदिन भन्दै उत्तरपुस्तिकामा पैसा र चेक राख्ने गरेको फेला परेको छ ।

असारमा शिक्षक सेवा अयोगले लिएको परीक्षामा शिक्षकहरूले नै यस्तो बदमासी गरेको भेटिएको छ ।
आयोग अध्यक्ष उदयराज सोतीका अनुसार आयोगले लिने हरेकजसो परीक्षामा ५ सय र हजारका नोट फेला पर्ने गरेका छन् ।

“उत्तरपुस्तिकाको भित्री भागमा सजिलै नदेखिने गरी नगद र चेक राखिएको हुन्छ,” उनले भने, “परीक्षकलाई लोभ्याउन पैसा राख्ने र अन्य सांकेतिक शब्द लेख्ने परीक्षकको परीक्षा नै रद्द गर्ने गरेका छौं ।” यस्तो रकम राजस्वमा दाखिला गरिने उनले बताए ।

आयोगले लिएको यसअघिको परीक्षामा १५ जनाले नगद राखेका थिए । असारको परीक्षामा माध्यमिकतहका ४ शिक्षकले पैसा राखेको सोतीले बताए ।

यस्ता क्रियाकलाप गर्नेमा प्राथमिक तहका शिक्षक सबैभन्दा अगाडि देखिएका छन् । माध्यमिक तहका शिक्षक अलि परिपक्व हुँदा उनीहरूको संख्या कम छ ।

यस्ता क्रियाकलाप गर्ने शिक्षकलाई आयोगले एकपटकसम्म उत्तरपुस्तिका रद्द गर्ने गरेको छ । योभन्दा ठूला खालका त्रुटि गर्नेले ५ वर्षसम्म परीक्षा दिन पाउँदैनन् ।

उत्तरपुस्तिकामा नलेखी थप कापीमा मात्र लेख्ने, एउटै व्यक्तिका २ कपी भेटिने र परीक्षामा धाँधली गर्ने शिक्षकलाई यस्तो सजाय दिने गरिएको छ । सोतीले परीक्षार्थीका अनौठा व्यवहार सुनाए ।

“उत्तरपुस्तिकामा मोबाइल नम्बर राखेर मागेजतिको पैसा दिन्छु भन्दै लेख्छन्, कतिपयले चिठी नै लेखेर आफ्नो उम्मेर जान लागेको भन्दै विलौना गर्छन्,” सोती भन्छन्, “कसै–कसैले आफू अपांग भएकाले बाँच्न कठिन भएको भन्दै पास गराइदिन आग्रह गर्छन्, कसैले आफू टुहुरो भएको भन्दै दुःख व्यक्त गर्छन् ।”

असारको परीक्षामा माध्यमिकतहका ३० शिक्षकले यस्ता क्रियाकलाप गरेका थिए । त्यसअघि यस्ता १ सयभन्दा धेरै उदाहरण भेटिएको सोतीले बताए । सबैको परीक्षा रद्द गरिएको छ ।

परीक्षकलाई उत्तरदायी बनाउन आयोग प्रयत्नशील रहेको सोतीले बताए । “शिक्षकलाई पास–फेल गराउने परीक्षकको हातमा हुन्छ, त्यसैले कसैको भविष्य डुबाउने गरी काम नगर्न सचेत गराएको छु,” उनले भने, “परीक्षामा कसैको भनसुन नचल्ने भएकाले ढुक्क भएर अध्ययन गर्ने शिक्षक पास भएका छन् ।”

कारोबार डेलिबाट

प्रकाशित मिति: २२ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्