ट्रक साहित्य एउटा बेग्लै अस्तित्वको खोजी


 


अँग्रेजी साहित्यको विद्यार्थी हुँदादेखि साहित्यसँगको मेरो सानिध्यता प्राध्यापन क्षेत्रमा पाइला टेकेदेखि आजसम्म घनिष्टतर रहँदै आएको छ । प्राध्यापन क्षेत्रबाट बचेखुसेको समय म अनुवाद, लेखन, अध्ययन एवम् यदाकदा समालोचना र कृति समीक्षाको अभ्यासमा व्यतीत गरिरहेको हुन्छु । सिकाइको क्रम निरन्तर चलिरहेको छ ।

Anil Pokhrel
अनिल पोख्रेल

वास्तवमा जीवनको अविराम यात्रामा लागिरहँदा यो सिकाइ यौटा दैनन्दिन क्रियाकलापझैं आफूसँगै निरन्तर चल्दोरहेछ र चलिरहेको पनि छ । विश्वविद्यालयीय अध्ययनबाट हासिल गरेका ज्ञानलाई प्रयोग गर्ने यस्ता अवसरहरुबाट म सकेसम्म पछाडि हट्न चाहेको छैन र निरन्तर भगिरथ प्रयासहरु जारी छन् ।

साहित्यको मूलधार भन्दा अलग एवम् पृथक कोटिको साहित्यिक कृति ‘ट्रकसाहित्य’ सङ्कलित सिर्जनाहरु’ मा समिक्षात्मक आलेख लेखिदिनुपर्ने हेतुले मलाई उक्त पुस्तक थमाइयो । सो पुस्तकमा छताछुल्ल पोखिएका सिर्जनात्मक हरफहरुमाथि समालोचकीय चस्मा लगाएर गहन अध्ययन गर्नुपर्ने जिम्मेवारीले चिमोटिरह्यो ।

पुस्तकको आवरण, भूमिका अनि पृष्ठभरि भरिएका सिर्जनाहरुले मनमस्तिष्क अनि नयनलाई चुम्बकले झैं तानिरह्यो । वास्तवमा यो कृति साहित्यको पृथक एवम् नौलो अस्तित्व खोजेर मूलधारमा स्थान पाउनका लागि संघर्षरच छ र केही हदसम्म ‘ट्रकसाहित्य’ भन्ने नूतन विधाले यदाकदा पत्रपत्रिका, साहित्यिक अनलाइन पत्रिका र साहित्यिक बहसका क्षेत्रमा स्थान पाउन थालेको छ ।

अलग विधामा आधारित कृतिलाई साहित्यको मूलधारमा प्रवेश गराउने श्रेय कसैलाई जान्छ भने ती व्यक्ति हुन्– पूर्वाञ्चलका कर्मठ पत्रकार एवम् साहित्यकार सुविद गुरागाइँ, जो सुनसरीको इनरुवामा रहेर क्रियाशील एवम् ऊर्जाशील समय व्यतीत गरिरहेका छन् । सुविदजीले कमैले चासो गरेका तर सडकमा अविराम यात्रा गर्ने, सडकमै भविष्य खोज्ने कर्मठ, श्रमजीवी वर्गका भावनालाई मुखरित गर्ने ट्रकसाहित्य जस्तो नौले विधालाई प्रवेश गराएर ठूलै जोखिम र प्रशंसानीय बहादुरी देखाएका छन् ।

उनले ट्रकका पछिल्तिर लेखिएका सायरीहरु, कवितांश, गजलका शेरहरु, मुक्तकहरु आदि सङ्कलन गर्न ठूलै मिहेनत र लगानी गर्नुपर्यो होला, त्यसको लेखाजोखामा म लाग्दिन । त्यो प्रयासलाई, लगनशीलतालाई साधुवाद छ किनकी उनको त्यो नौलो प्रयासले नेपाली साहित्यमा ट्रक साहित्यजस्तो नवीन विधालाई प्रवेश गर्ने सु–अवसर मिलेको छ ।

सडकमा आफ्ना जीवनका अनगिन्ती सपनाहरु, परिवारका सम्झना र मायालाई सँगाल्दै मेचीदेखि महाकालीसम्म अनि नेपालदेखि भारतका प्रान्तीय सहरहरुसम्म ‘जनाको भरिया’ भई सेवा गर्ने गुरुजी र सहचालक (खलासी)हरुका वेदना, हर्ष, प्रेम, वासना, कुण्ठा, पीडा आदिलाई अभिव्यक्त गरेको छ । माक्र्सवादी साहित्यिक चिन्तकहरुले साहित्यलाई मानिसहरुका दमित एवम् कुण्ठित भावनाहरु अभिव्यक्त गर्ने माध्यमका रुपमा लिएका छन् । माक्र्सवादी विचारकहरु साहित्यलाई समाजको ऐना मान्छन् ।

यस अर्थमा यो पुस्तक पनि सडकका वेदना, यथार्थ अनि संघर्षशिल गुरुजीहरुको विचारलाई प्रष्फुटन गर्ने ऐना हो । त्यो ऐनामा हामी समाजमा थोरै भएपनि उपे एवम् अलिकति बहिष्कृतझैं लाग्ने यातायातकर्मीहरुका भावनालाई देख्न सक्छौं, महसुस गर्न सक्छौं ।

ट्रकसाहित्य पनि साहित्यको बिल्कुलै नवीन विधा हो जहाँ हामी हाम्रा गुरुजीका प्रेम, वियोग, देशप्रेम, पारिवारिक बिछोड, जीवनका पीडा, राष्ट्रियता, स्वाधीनताको चाहना एवम् यौन र वासनाका अभिव्यक्तिहरु अघि बढिरहेको पाउँछौं । ‘ट्रकसाहित्यः सङकलित सिर्जनाहरु’ सडकमा अविराम यात्रा गर्ने ट्रकचालक र तिनका संवेदना र भावनाको प्रतिबिम्ब हो ।

अझै पनि ट्रकचालकलाई दोश्रो दर्जाको नागरिकका रुपमा हेर्ने खराब नियति हामीले भोग्दै अनि देख्दै आएका छौं । समाजले ती गुरुजीहरुका पीडा, रोदन, वेदना र जोखिमपूर्ण जीवनका उतारचढावहरुलाई नजरअन्दाज गरिरह्यो ।

उनीहरुका साहित्यिक भावनाहरु पढिदिने र सुनिदिने मान्छे औंलामा गन्न सकिन्थ्यो तर अहिले परिस्थितिले कोल्टे फेरेको छ । ट्रक साहित्यले साहित्यिक बहसका क्षेत्रमा स्थान बनाउन लागिरहेको छ ।

सडकमा यात्रा गर्दागर्दै टक्क अडिएर ट्रकका पछिल्तिर लेखिएका मर्मस्पर्शी, विनोदपूर्ण, प्रेमरसले युक्त एवम् पीडाले घनीभूत हरफहरु पढी मुस्कुराउने, हाँस्ने, अनुहार मलीन बनाउने पाठकका जमात अहिले बग्रेल्ती छन् । ट्रकसाहित्यको बारेमा लेख लेखिनु र यसको विषयमा बहस चल्नुले अब साहित्यमा ‘ट्रकसाहित्य’ विधाले सबाल्टर्न साहित्य (Subaltern Literature) अर्थात् शोषित, पीडित एवम् सर्वहारा वर्गको साहित्यका रुपमा ठाउँ पाउनेछ ।
BOOK+Coverट्रकका पछिल्तिर लेखिने सिर्जनाहरु गाडीको गतिसँग सडकमा बगिरहेका छन् किनकी ती गाडीहरुसँगै धेरैको आशा, भरोसा, रोजीरोटी, जीवनका त्यान्द्राझैँ रुग्ण क्षणहरु यौटा क्रमभङ्गता नभएको विचारझैँ सलल बगिरहेका छन् । सडकमा सवारी लिएर हिँडेका चालकहरु कहिले फकिरझैँ लाग्दछन् त कहिले पारिवारिक विछोड, पीडा, माया पिरतीले बहकिन्छन् र छताछुल्ल पोखिन्छन् ट्रकसाहित्यका सिर्जनाहरुमा ।

लामो समयसम्म आफ्नी श्रीमती, प्रेमिकाको सामिप्यता नपाएको असीम छट्पटाहट्ले मर्माहत भई मायाप्रेम र यौनका अभिव्यक्तिमा समेत पोखिन्छन् सडकका ती फकिरहरु अनि बहकिन्छन् ट्रक साहित्यका सिर्जनाहरुमा । सडकमा हामी अनुभव र छट्पटाहटको समिश्रणबाट निस्किएका आहट, रोदन, क्रन्दन, विलाप, प्रेम अभिव्यक्ति र स्वाधीनताका गीतहरु गुञ्जायमान भएको पाउँछौँ ।

‘ट्रकसाहित्यः सङकलित सिर्जनाहरु’ त्यस्तै भावनात्मक उत्तेजना, मर्मस्पर्शी काव्यिक वाक्यांशहरु र यथार्थवादी शब्दचित्रमय जीवनका भोगाइहरु समेटिएको कृति हो । कहिलेकाहीँ गुरुजीहरु आफ्नो ड्राइभरको जिन्दगीलाई धिक्कार्दै यसरी छताछुल्ल पोखिन्छन्–
न श्रीमतीको माया न सालीको प्यार ।
दसचक्के ड्राइभरको जिन्दगी बेकार छ यार !
(ना ३ ख ७०६०)

आफ्नो जिन्दगीलाई धिक्कारेर सिर्जना गर्ने ड्राइभरहरुको भावना र विचार यदाकदा देशप्रेम र स्वाधीनता एवम् स्वतन्त्रताको गीत रच्दै अघि बढेको पनि पाइन्छ । वास्तवमा गुरुजीहरुको मनमा अथाह देशप्रेम र स्वतन्त्र जीवनको फर्माइस हुन्छ भन्ने कुरा यी हरफले देखाएका छन् ।
सधैँभरि चक्काजाम, बन्द अनि हड्ताल ।
ढुङगा हान्ने, कुर्सी तान्ने यही हो नयाँ नेपाल ?
(ना २ ख ९८६३)

वास्तवमा देश बिग्रिएको पीडा अनि अस्थीर राजनीतिक परिस्थितिले विरक्तिएपछि भएका यस्ता सिर्जनाले नयाँ नेपालको रटान लाउने तर कुर्सी मोहमा फसेका नेतालाई दह्रो कटाक्ष गरेको छ । ट्रक साहित्यका सिर्जनाहरुले कतिपय अवस्थामा सन्देशमूलक चेतनाका स्वरहरु समेत प्रवाहित गरिरहेको देख्न सकिन्छ ।
श्रीमती राख्नु टिपटप,

दुईवटा बच्चापछि फुलिस्टप ।
(बा २ ख २८०)

यो हरफले दुई सन्तान मात्र जन्माउन सबैलाई जनचेतना प्रदान गरेको छ । ‘दुई सन्तान ईश्वरको वरदान’ भन्ने सरकारी सन्देशसँग मिल्दोजुल्दो भावनाझैँ जनसंख्या वृद्धिमा रोकथाम गर्न आफ्ना तर्फबाट सन्देश प्रवाहित गरेका छन् गुरुजीहरुले, नितान्त आफ्नै शैलीमा ।

कतिपय अवस्थामा ट्रक साहित्यका सिर्जनाहरुले गम्भीर विषयवस्तुको उठान गरेको पाउन सकिन्छ । वास्तवमा नेपालमा राज्यको चौथो अङ्ग मानिने पत्रकारहरु असुरक्षित छन् र उमा सिंह, वीरेन्द्र साह र डेकेन्द्रराज खड्काजस्ता पत्रकारहरुको सिलसिलेवार हत्यापछि सम्भवतः ट्रकसाहित्यमा समावेश भएको हुनसक्ने यो हरफले तीतो यथार्थलाई प्रस्तुत गरेको छ–
पत्रकार मुलुकका सचेतक हुन् ।
यिनलाई मार्न पाइँदैन ।
(ना ३ ख ५७५५)
यस्ता गम्भीर एवम् यथार्थपरक सिर्जनाले ट्रकसाहित्यको गरिमालाई अझ उँचो बनाएका छन् । वास्तवमा ट्रकसाहित्य पनि वास्तविकताको धरातलमा उभिएर मानवका भोगाइ, जीवन, यथार्थ, पीडा, उत्तेजना, वेदना र मर्मलाई छामेर रचिएका सिर्जनाहरुको यौटा दस्तावेज हो ।

अरु साहित्यका मूलधारमा आधारित कृतिहरुझैँ यो विधाले प्रशस्त अवसर र ठाउँ पाउनुपर्छ । समाजको यौटा गहन एवम् महत्वपूर्ण अभिव्यक्तिहरुको जीवित स्तम्भ भएर पनि कता दूरदराजमा अल्मलिरहेको र ओझेलमा परिरहेको साहित्यलाई भविष्यका लागि सुरक्षित गरिदिनु र आगामी दिनका लागि यौटा उज्यालो मार्ग प्रशस्त गरिदिनु अहिलेको पुस्ताको महान् उत्तरदायित्व पनि हो ।

‘जनताका भरिया’लाई साधुवाद छ र सुविद गुरागाईंजीको बहादुरीपूर्ण प्रयासलाई सलाम छ । यो सडकको कटू यथार्थ र अस्तित्वबोधबाट हामी कोही पनि पन्छन सक्ने छैनौ“ ।

प्रकाशित मिति: २२ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्