‘खानै नदिई बलात्कार गरे’


 


काठमाडौं,  भदौ २Nepali cheli rape-case

भारतमा साउदी अरबका कूटनीतिज्ञबाट यौन शोषणामा परेका दुई नेपाली महिला नेपाल आइपुगेका छन्। ३० र ५० वर्षका उनीहरूलाई बिहीबार दिउँसो दिल्लीबाट हवाईमार्ग हुँदै स्वदेश ल्याइएको हो।

दिल्लीनजिकै हरियाणाको गुडगाउँस्थित साउदी कूटनीतिज्ञको घरमा दुई नेपाली युवतीलाई बन्धक बनाई चरम शारीरिक र मानसिक शोषण गर्ने गरेको सूचनाका आधारमा स्थानीय प्रहरीले सोमबार छापा मारेर उनीहरूलाई मुक्त गरेको थियो। दुई महिनादेखि सामूहिक बलात्कारसँगै शारीरिक र मानसिक शोषणमा परेका उनीहरूले नेपाल फर्काउन आग्रह गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी त्यहाँस्थित नेपाली दूतावासको संयोजनमा उनीहरूलाई बिहीबार दिउँसो नेपाल ल्याइएको  छ।

नेपाल आइपुगेका दुवै महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो संरक्षणमा लिएको छ। उनीहरूलाई वैदेशिक रोजगारीको आवरणमा पाशविक व्यवहार गर्ने साउदी कूटनीतिज्ञकोमा पुर्यासउने समूहको खोजी सुरु गरेको ब्युरो प्रमुख डिआइजी हेमन्त मल्लले जानकारी दिए।

नेपाली महिलालाई दिल्लीमै घरेलु काममा लगाउँदा कानुनी अड्चन हुन सक्ने आशंकाले साउदी कूटनीतिज्ञले उनीहरूलाई दलालमार्फत साउदी पुर्यामएर पुनः दिल्ली ल्याएको प्रहरीको अनुमान छ। दिल्लीमा पुरानै स्थानमा घरेलु कामदारका रूपमा लगिएपछि दुवै महिलामाथि मानसिक र शारीरिक शोषण सुरु भएको थियो।

उनीहरूलाई घर बाहिर जान पूर्ण प्रतिबन्ध थियो भने मोबाइल लगायतका कुनै पनि सम्पर्क हुन सक्ने साधन प्रयोगमा रोक लगाएर शारीरिक र मानसिक शोषण गरेको दुवैले ब्युरोलाई बयान दिएका छन्। ‘घरको सामान्य काम हो भनेका थिए तर दिल्ली ल्याएपछि उनीहरूको व्यवहार फेरियो,’ पीडित महिलाको बयान उद्धृत गर्दै प्रहरी अधिकारीले भने, ‘खान दिएनन्, दिनभर काममा लगाए अनि पटक–पटक बलात्कार गरे।’

स्रोत नागरिक दैनिक

प्रकाशित मिति: २५ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्