साढे ३३ किलो सुन प्रकरणः इजलासमा भिडियो देखाउदा वकिलको होहल्ला, के छ भिडियोमा ?



काठमाडौं, वैशाख ३०
सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक बहसमा अभियुक्त पक्षका कानुन व्यवसायीहरूले होहल्ला गरेपछि इजलासमा देखाउन थालिएको भिडियो बीचमै रोकिएको छ ।

भिडियोमा ३३ किलो सुन पत्ता लगाउन चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सहयोगी र भरियालाई दिएको यातनाका दृष्य छन् । नयाँ पत्रिकामा खबर छ ।

जिल्ला अदालत, मोरङमा न्यायाधीश नारायण शर्माको इजलासमा शुक्रबार चलेको थुनछेक बहसका क्रममा सरकारी वकिलले अनुमति मागेर भिडियो देखाउन खोजेका थिए ।

जुन भिडियो प्रमाणका रूपमा अदालतसमक्ष पेस गरिएको थियो । सरकारी पक्षका वकिलले भिडियो देखाउन थालेपछि प्रतिवादी पक्षका वकिलहरू होहल्ला गर्न थाले ।

इजलासमा भिडियो देखाउन सुरु गर्नासाथ प्रतिवादी पक्षका वकिल उद्धवचन्द्र घिमिरेले विरोध जनाए । अदालतबाट गलत अभ्यास भएको र त्यसले नकारात्मक प्रभाव पार्ने उनको जिकिर थियो ।

त्यसपछि वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले होहल्ला गर्न थाले । उनीहरूको होहल्लापछि ४ मिनेट देखाइएको भिडियो रोकियो । र, लगत्तै न्यायाधीश शर्माले इजलास स्थगित गरे ।

के छ भिडियोमा ?
सरकारी वकिलका अनुसार इजलासमा देखाउन लागिएको भिडियोमा सुन तस्करीका नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ले हराएको ३३ किलो सुन पत्ता लगाउन सहयोगी र भरियालाई दिएको यातनाका दृश्य छन् । उनले सहयोगी र भरियालाई होटेलका कोठा र जंगलमा यातना दिएका थिए ।

त्यस्तै, सनम शाक्यलाई करेन्ट लगाइएको थियो । यातना दिने क्रममा संगठित अपराधमा संलग्न प्रहरी र कारोबारीको नाम उच्चारण गरेका छन् ।

सुन तस्करीमा संलग्न भुजुङ गुरुङले भरियाहरूलाई हप्काएको विषयमा पनि भिडियोमा छ, जुन अनुसन्धान समितिसँग अभियुक्तहरूले भनेका कुरा हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News