फेरी देखियो इबोला, नेपालमा उच्च सतर्कता



काठमाडौं, जेठ २
पश्चिम अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको संक्रमण देखिएपछि नेपालमा सतर्कता अपनाइएको छ ।

शान्ति स्थापनार्थ नेपाली सेना खटिएको कंगोमा इबोला संक्रमण देखिएपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सतर्क गराएको हो । नयाँ पत्रिकामा खबर छ ।

कंगोमा नेपाली सेनाबाहेक पछिल्लो समय गैरसरकारी संस्थामा काम गर्न जानेहरूको समेत आवतजावत बढेकाले सतर्कता अपनाउन निर्देशन दिएको महाशाखाका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले बताए ।

हेल्थ डेस्कका इन्चार्ज हरिकुमार उपाध्यायले नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय विमानलाई हेल्थ डेस्कमा सम्पर्क गर्न भनिने बताए । विशेषतः पश्चिमी अफ्रिकी मुलुक, अझ कंगो भ्रमण गरेकालाई अनिवार्य डेस्कमा सम्पर्क गराउन भनिने उनले बताए ।

त्यसैगरी, अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीलाई अभिमुखीकरण तालिमका लागि पनि पहल भइरहेको उपाध्यायले जानकारी दिए । सन् २०१४ देखि २०१६ सम्म सियरालिओन, लाइबेरिया, गिनिया, मालीलगायत मुलुकमा इबोला संक्रमण देखिएपछि सतर्कतास्वरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारी र सुरक्षाकर्मीलाई अभिमुखीकरण तालिम दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News