कसले राखेको थियो जनकपुरमा स्वरुप बिग्रेको नेपाली झण्डा ? यसरी भयो खुलासा


 


जनकपुरधाम, जेठ ३
भारतीय प्रधानमत्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका वेला जानकी मन्दिर परिसरको मञ्चमा स्वरूप बिग्रेको नेपालको राष्ट्रिय झन्डा भारतीय दूतावासले राखेको खुलेको छ ।

भारतीय सुरक्षाकर्मीले मञ्चको दायाँ–बायाँ दुई देशका झन्डा राखेका थिए । नयाँ पत्रिकामा खबर छ ।

जानकी मन्दिर प्रांगणमा रामायण सर्किटको शिलान्यास कार्यक्रमका लागि बनाइएको मञ्चको दक्षिणपट्टि भारतको र उत्तरपट्टी नेपालको झन्डा राखिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर पुग्नु आधा घन्टाअघि दूतावासको कमान्डमा रहेका भारतीय सुरक्षाकर्मीले ती झन्डा राखेका थिए ।

नेपालको झन्डा उनीहरूले कहाँबाट ल्याए भन्ने नेपाली पक्षलाई जानकारी छैन । कार्यक्रम व्यवस्थापनको जिम्मेवारी संघीय सरकार, प्रदेश सरकार र जानकी मन्दिरले संयुक्त रूपमा लिएका थिए । जानकी मन्दिरका छोटा महन्थ रोशन दासले मन्दिर परिसरमा भारतीय दूतावासले राखेको कार्यक्रमबारे आफूलाई जानकारी नभएको बताए ।

उता संघीय सरकारका सामान्य प्रशासन मन्त्रालयले झन्डा बिगारेको विषयमा प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी र जनकपुर उपमहानगरपालिका प्रशासकीय अधिकृतलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्र काटेको छ ।

 

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्