यातायात व्यवसायीसामू झुके मन्त्री, सिन्डिकेट हटाउने महानिर्देशकलाई हटाए


 


काठमाडौं, जेठ ५
सिन्डिकेट पक्षधर यातायात व्यवसायीसँगको दबाबमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सार्वजनिक यातायातको क्षेत्रमा ४० वर्षदेखि जरो गाड्दै आएको सिन्डिकेट अन्त्यका लागि कदम चाल्ने यातायात व्यवस्था विभाग महानिर्देशक रूपनारायण भट्टराईलाई मन्त्रालयमा तानेका छन्।

मन्त्री महासेठले गत बुधबार राति नै विभागका महानिर्देशक भट्टराईलाई मन्त्रालय तान्ने कोसिस गरेको थिए। अन्नपूर्णमा खबर छ ।

सार्वजनिक सवारीको क्षेत्रमा व्याप्त सिन्डिकेट अन्त्यका लागि भट्टराईको कदममा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाको समेत सहयोग रहेको हुँदा मन्त्रालयका सचिव मधुसूधन अधिकारीले भट्टराईलाई मन्त्रालय तान्न नसक्ने भनेपछि मन्त्री महासेठ पछि हटेका थिए।

त्यसपछि मन्त्री महासेठले शुक्रबार प्रधानमन्त्री ओलीसँग भेटेर भट्टराईका कारण आफूलाई सिन्डिकेट अन्त्य गर्न असहज भएको भन्दै उनको सरुवाका गर्न स्वीकृति मागेका थिए। प्रधानमन्त्री ओलीले स्वीकृति दिएपछि मन्त्री महासेठले भट्टराईलाई मन्त्रालयमा हाजिर हुने गरी पत्र थमाएका छन्।

भट्टराईलाई मन्त्रीले थमाएको पत्रमा विशेष काममा लागि मन्त्रालयमा हाजिर हुन भनिएको छ। तर भट्टराईले के काममा गल्ती गरेको भनेर उल्लेख गरिएको छैन। मन्त्रालयबाट सरुवाको पत्र आएलगत्तै भट्टराईले भने, ‘मन्त्रालयमा हाजिर हुने पत्र पाएको छु।’ तर आइतबारदेखि केही दिन बिदा बस्ने र मन्त्रालयमा हाजिर हुन नजाने भट्टराईको भनाइ छ।

सिन्डिकेट अन्त्यका लागि कडा रूपमा प्रस्तुत भएपछि मन्त्रीलाई व्यवसायीले भट्टराईलाई विभागबाट हटाउन दबाब दिँदै आएका थिए। व्यवसायीको दबाब थेग्न नसकेपछि मन्त्री महासेठले अन्ततः भट्टराईलाई मन्त्रालयमा तान्ने निर्णय गरेका हुन्।

 

प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्