मोदीको भ्रमण खर्चमा विवाद, फोरम र राजपा नेता आरोपप्रत्यारोपमा उत्रिए



काठमाडौं, जेठ ५
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारीमा गरिएको खर्चको विषयमा प्रदेश २ का सत्तारूढ दल संघीय समाजवादी फोरम नेपाल र राजपाका नेताहरूबीच आरोपप्रत्यारोप सुरु भएको छ।

मोदीको जनकपुर भ्रमण सफल बनाउन प्रदेश २ सरकारले सातवटा समिति बनाएको थियो। भ्रमणपछि सातवटै समितिले आफूले गरेको खर्चको विवरण तयार गरेका छन् । नागरिकमा खबर छ ।

प्रदेश २ सरकारका कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको संयोजकत्वमा गठित नागरिक परिचालन समितिका सदस्यबीच खर्चलाई लिएर आरोपप्रत्यारोप चलेको छ। समितिले मोदीको भ्रमणमा मान्छे जुटाउन ३ सय ३५ वटा गाडी प्रयोग गरेको जनाएको छ।

प्रदेश २ का ८ जिल्लाबाट जनकपुरमा मान्छे ल्याउन त्यति गाडी प्रयोग गर्नुपरेको समितिका संयोजक साहले बताएका छन्। मान्छे ओसार्न ८ जिल्लामा प्रतिजिल्ला १५ देखि ७० का दरले गाडी प्रयोग भएको उनको दाबी छ ।

समितिकी सदस्य एवं प्रदेशसभा सांसद डिम्पल झाले भने आफ्नो गृहजिल्ला रौतहटमा १० वडा गाडीमात्र प्रयोग भएको दाबीसहित यस विषयमा भ्रष्टाचार भएको आरोप लगाएकी छन्। रौतहटका प्रदेशसभा सांसद योगेन्द्र राय यादवले नक्कली बिल बनाई अनियमितता गरेको उनले बताइन्।

गत बुधबार बसेको समितिको बैठकमा यस विषयमा झा र यादवबीच चर्काचर्की भएको थियो। बैठकमा यादवले कुनै अनियमितता नगरेको दाबी गरेका थिए भने झाले आफू चुप लागेर नबस्ने बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News