साढे ३३ किलो सुन प्रकरणः रहस्यमय मोडमा अनुसन्धान, गोरेले दिए यस्तो बयान


 


काठमाडौं, जेठ ९
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त मोरङ उर्लाबारीका ‘गोरे’ भनिने चूडामणि उप्रेती मंगलबार पक्राउ परेका छन्।

पक्राउ परेपछि दिएको प्रारम्भिक बयानमा गोरेले प्रहरीकै मिलेमतोमा विमानस्थलबाट निर्बाध सुन तस्करी गर्ने गरेको स्विकारेका छन्। अन्नपूर्णमा खबर छ ।

मंगलबार बिहान पाँच बजेर ३५ मिनेटमा काठमाडौं गौरीघाटबाट पक्राउ परेका गोरेबाट थप तस्कर र तिनका मतियारको नाम संकलन गरेको छानबिन समितिको दाबी छ।

गोरे पक्राउबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानबिन समितिका संयोजक एवं सहसचिव ईश्वरराज पौडेलले भने, ‘गोरे भारत(नेपाल सीमामा आउजाउ गर्ने र लुकिछिपी बस्दै गरेको सूचना हामीले पाएका थियौं। उनी काठमाडौं आएको सुराक पाएपछि मंगलबार बिहान पक्राउ गरेका हौं।’

पौडेलले सुन तस्करी, शाक्य हत्या, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित थाई एयरलाइन्सका लोडर सानु बमको शंकास्पद मृत्युसँगै संगठित अपराधका मुख्य अभियुक्त गोरे पक्राउ परेकाले घटनाको थप रहस्य बाहिर आउने बताए। उनले भने, ‘यो घटना जेरीजस्तै जेलिएको छ।

हामीले गोरेबाट सुन र सनम शाक्य हत्या प्रकरणमा थप तथ्यप्रमाण प्राप्त गरेका छौं। अभियुक्तबाहेकका अन्य सूचना समेत प्राप्त भएका छन्। अनुसन्धान अत्यन्त जटिल र गम्भीर प्रकृतिको छ।’

गोरेले आफू मुख्य तस्कर नभएर व्यवस्थापक भएको बयान समितिलाई दिएका छन्। उनले बयानमा केही बहालवाला र पूर्वप्रहरी अधिकृतसँगै नेताको नामसमेत पोलेका छन्।

हाल प्रहरीले गोरेसहित ६५ जनाको संलग्नता खुलाइसकेको छ, जसमा ३३ जना अझै फरार छन्। शाक्य हत्यापछि उनको शव गायब पार्न गोरेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरीलाई दुई करोड रूपैंयाको अफर गरेका थिए।

प्रकाशित मिति: ९ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्