को हुन् सुन तस्करीका मुख्य नाइके गोरे, कसरी परे पक्राउ ?


 


काठमाडौं, जेठ ९
सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती उर्फ गोरे चर्चित पूर्वफुटबलर हुन्। मोरङ ११ बाट फूटबल खेल्ने उनी पछि भारतीय सेनामा भर्ती भए। तीन वर्ष काम गरे अनि दुबईको अबुधाबी पुगे। त्यहाँ प्रहरीमा जागिर खाए। पाँच वर्ष दुबई बसे। पछि सुन पठाउने र हुन्डी कारोबारमा लागे।

नेपाल फर्किएर गोरे दुबई, सिंगापुरबाट नेपालतर्फ सुन पठाउने धन्दा चलाउन थाले। एकाएक उनको सम्पत्ति अस्वाभाविक रूपमा बढेपछि गाउँलेले अवैध धन्दाको आशंका गरेका थिए।

उनका बाबु नेत्रप्रसाद अवकाशप्राप्त असई हुन्। मोस्ट वान्टेड हुँदाहुँदै पनि प्रहरीका उच्च अधिकारीसँग नियमित सम्पर्क भएको कुरा छानबिन समितिले पत्ता लगाएको छ। सनमको हत्या भएपछि शवको व्यवस्थापन गर्ने विषयमा पनि उनले प्रहरी अधिकारीलाई सम्पर्क गरी सल्लाह मागेको खुलेको छ।

पक्राउ परेका निलम्बित एसपी विकासराज खनालले शव ल्याएर गाडी नै त्रिशूलीमा फालिदिनू भनेर सिकाएको फोन रेकर्डसमेत छानबिन समितिले फेला पारेको छ। अभियुक्तले शव धरान र इटहरीको बीचमा जंगलमा झाडीमा गाड्ने तयारी भएको समेत बयान दिएका छन्।

गोरे समूहले तीन वर्षमा तीन हजार सात सय ९९ किलो पाँच सय ५९ ग्राम सुन विमानस्थल हुँदै तस्करी गरेर ल्याएको खुलेको छ। यो परिणामको सुन सन् २०१५ जुलाईदेखि तस्करी भएको हो।

कसरी पक्राउ परे गोरे ?

गोरे अपराध महाशाखाको टोलीलाई छक्याउँदै भारतको दिल्ली पुगेका थिए। दिल्लीमा बसेर उनले आफ्ना समूहका अन्यलाई प्रहरी र अदालतका गतिविधिबारे सोधपुछ गरिरहेका थिए।

सानु वनका परिवारलाई विभिन्न माध्यमबाट सोधपुछ गरेर पनि गोरेले प्रहरी र न्यायालयका सूचना लिइरहेका थिए। अदालतमा विपक्षी वकिलका टेलिफोनलाई समेत समितिले सूक्ष्म रूपमा निगरानी गरिरहेको थियोे।

सात दिनअघि गोरे नयाँ दिल्लीमा लुकेर बसेको सूचना पाएपछि समितिले एक डीएसपीको नेतृत्वमा टोली दिल्ली पठाएको थियो। उक्त टोली दिल्ली पठाएकोबारे समितिका पनि सीमित सदस्य मात्रै जानकार थिए।

सोमबार दिल्लीको एक होटलमा बसेका गोरेलाई भारतीय प्रहरीकै सहयोगमा नेपालबाट गएको प्रहरी टोलीले नियन्त्रण लिई सीधै जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालिएको थियो। सोमबार अपराह्नदेखि राति अबेरसम्म गोरेसँग समितिले बयान लियो।

बयान सकिएपछि मंगलबार बिहान साढे पाँच बजे गोरेलाई उनी बस्ने डेरा गौरीघाटमा पु¥याइयो। डेरा पुगेपछि पनि गोरेले आफ्नो ज्यान बचाइदिन प्रहरी टोलीलाई अनुनय गरेका थिए।

मुद्दा चलाउन आन्तरिक कानुनी प्रक्रियाका कारण दिल्लीबाट ल्याइएका गोरेलाई गौरीघाटबाट पक्राउ परेको मुचुल्का तयार गरिएको समितिकै एक सदस्यले बताए। गोरे नियन्त्रणमा लिँदा उनी धेरै हतास र छटपटाहट अवस्थामा रहेको जानकारी ती सदस्यले दिए।

उनले भने, ‘प्रहरीले समातेपछि उसले कुनै हस्तक्षेप गरेन। ज्यान जोगाइदिनुपर्यो, सबै बताइदिन्छु भने।’ गोरेले संयुक्त अरब इमिरेट्समा नजमल जनरल ट्रेनिङ कम्पनी खोलेर सुन नेपालतर्फ तस्करी गर्दै आएको ती सदस्यले बताए।

गोरेले प्रहरीलाई गिरफ्तारी दिनुअघि भिडियो खिचेर एउटा अनलाइनमा मिडियामा दिएका थिए, जुन मंगलबार मात्रै सार्वजनिक भएको छ। भिडियोमा गोरेले सबै सुन तस्करीमा आफ्नो मात्रै नाम आएको भन्दै अन्यको विवरण आउँदै जाने बताएका छन्।

शाक्यको हत्या आफूले नचाहँदा नचाहँदै भएको समेत भिडियोमा उल्लेख गरेका छन्। प्रहरीले भिडियोसहितको मोबाइल पनि बरामद गरेको छ। अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्