अब विदेशीलाई कडा निगरानी, कस्तालाई गरिने छ कारबाही ?


 


काठमाडौं, जेठ १०
विभिन्न उद्देश्यले नेपाल छिरेका विदेशी नागरिकको प्रवेश, उपस्थिति, प्रस्थानलगायत गतिविधिलाई गृह मन्त्रालयले गम्भीर निगरानी गर्ने भएको छ।

विदेशी अनुगमन निर्देशिका पारित भएसँगै नेपालमा बस्ने विदेशीको गतिविधि निगरानी गर्ने र आवश्यक परे खराब आचरणका विदेशीलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयलाई बाटो खुलेको छ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट ‘विदेशी नागरिक अनुगमन निर्देशिका २०७४’ स्वीकृत गरेका छन्। यससँगै नेपालमा विभिन्न उद्देश्यले आफ्ना गतिविधि सञ्चालन गर्दै आएका विदेशी नागरिकमाथि कडा निगरानी हुने भएको हो। अन्नपूर्णमा खबर छ ।

अध्यागमन विभागका महानिर्देशक संयोजक रहेको निर्देशिका कार्यान्वयन समितिले शंकास्पद विदेशीको अनुगमन गर्ने र त्यस्ता विदेशी नागरिकलाई तत्काल नियन्त्रणमा लिन सक्नेछ।

विभागका महादिर्नेशकले अध्यागमन अधिकृतको संयोजकत्वमा सुरक्षा निकायका अधिकारीलाई समेत सम्मिलित गराई जुनसुकै बेला जुनसुकै स्थानमा रहेका विदेशी नागरिकका गतिविधि निगरानी र शंका लागे उनीहरूलाई नियन्त्रणसमेत गर्न सक्ने प्रावधान निर्देशिकामा उल्लेख छ।

निर्देशिकाले आवश्यक परे बिनासूचना शंकास्पद स्थलको अनुगमन र त्यसको अनुसन्धान गर्ने अधिकारसमेत दिएको छ। नेपालमा गैरकानुनी रूपमा बस्दै आएका विदेशीको यकिन तथ्यांक छैन।

नेपालमा बसेका अधिकांश विदेशी नागरिकले प्रवेशाज्ञा (भिसा) अनुसारको काम नगरेको, भिसाको म्याद गुज्रिएपछि समेत नेपालमा बसेको र कतिपय व्यक्ति धर्मप्रचारमा समेत संलग्न भएकाले उनीहरूलाई नियमन गर्न गृह मन्त्रालयले निर्देशिका ल्याएको हो।

प्रकाशित मिति: १० जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्