मन्त्री अधिकारीले नै गरे विवादित काम, फेवाताल अतिक्रमणकारी नै विज्ञ समूहमा


 


काठमाडौं, जेठ १३
फेवातालको मापदण्ड मिचेर वाटरफ्रन्ट रिसोर्ट सञ्चालन गरेका सुनील शाक्य पर्यटन विज्ञसमूहमा मनोनीत भएका छन् ।

विवादित व्यक्ति विज्ञसमूहमा मनोनयन भएपछि पोखरामा विभिन्न पार्टीका नेता तथा नागरिक समाजबाट विरोध भएको छ । नयाँ पत्रिकामा खबर छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पार्क भिलेज वाटरफ्रन्ट रिसोर्ट प्रालिका सञ्चालक सुनील शाक्यलाई विज्ञसमूहमा राखेपछि आलोचना भएको हो ।

झन्डै एक महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी अध्यक्ष रहेको विज्ञसमूहको २९ सदस्यीय समूहमा शाक्यलाई २८औँ नम्बरमा मनोनयन गरिएको छ।

राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेलले मन्त्री आफै अध्यक्ष रहेको समितिमा ताल अतिक्रमण गरेर विवादित बनेका व्यक्तिलाई मनोनयन गरिनु सर्वोच्च अदालतको आदेशकै अपमान भएको बताए ।

पछिल्लोपटक सर्वोच्च अदालतले शाक्यले सञ्चालन गरेको पोखराको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट प्रालिले तालको अतिक्रमण गरेको विषयमा दुई महिनाभित्र प्रतिवेदन तयार गर्न नापी विभागलगायतका निकायलाई आदेश नै दिएको छ ।

यो विवादको किनारा नलाग्दै विवादित व्यक्तिलाई विज्ञसमूहमा राखिएकोमा दलकै नेताहरूले विरोध गरेका हुन् । अतिक्रमण गरेका व्यक्तिलाई राजनीतिक संरक्षण हुँदा आगामी दिनमा झनै अतिक्रमण हुने चिन्ता बढेको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्