नक्कली छोरा बनाएर मृर्गौला तस्करी, कसरी बन्यो कागज ?


 


काठमाडौं, जेठ १४
भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० वर्षीय कुमार गिरीको पत्थरीको शल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाइएको छ।

मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका हुन्। गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो। नागरिकमा खबर छ ।

नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो।अस्पतालमा बुझाउनुपर्ने कागजपत्रमा छोरो देखाउने तर छोरा नभई अर्कै व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गरेको आरोपमा बस्नेत पक्राउ परेका छन्।

पीडित गिरीका आफन्त प्रह्लाद गिरीका अनुसार काका पर्ने लालचन्द्र गिरी र डिल्लुराम गिरीसँग थर्कको छोरा आशिषको चिनजान थियो । थर्कले उनीहरुमार्फत गिरीको मिर्गौला निकालेर प्रत्यारोपण गरेका थिए।

बस्नेतले आफ्नो छोरा आशिषका नाममा नक्कली कागजपत्र तयार गरी मिर्गौला प्रत्यारोपण गरेको उजुरी महानगरीय प्रहरी वृत्त भक्तपुर जगातीमा परेको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। कुमार मानसिक अवस्था कमजोर भएका व्यक्ति हुन्।

अस्पतालमा नाता प्रमाणित जाँच गर्न छुट्टै समिति रहे पनि कसरी नक्कली कागजका आधारमा मिर्गौला झिकियो भन्ने विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्