नेपाल प्रहरीमा एसएसपीदेखि सिपाहीसम्म थप दरबन्दी माग


 


काठमाडौं, जेठ २०
नेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारी थप दरबन्दी माग गरेको छ ।

मुलुकको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट आवश्यक रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले थप दरबन्दी माग गरेको हो । नयाँ पत्रिकामा खबर छ ।

प्रहरीले थप दरबन्दीसम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा पेस गरिसकेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट पुर्याउन पाँच सयभन्दा धेरै युनिट थप गरिनुपर्छ । प्रहरीको मुलुकभर अहिले प्रहरी प्रधान कार्यालयसहित दुई हजार ३३५ युनिट कार्यरत छन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले सरकारसँग आठ हजार प्रहरी कर्मचारीको थप दरबन्दी माग गरिएको जानकारी दिए । प्रहरी प्रधान कार्यालयका अनुसार थप दरबन्दीमा एसएसपीदेखि सिपाहीसम्मको दर्जा रहेका छन् ।

मुलुक संघीय संरचनामा गएपछि प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन खडा गरिनुपर्नेछ । त्यसमध्ये प्रदेश नम्बर १, ३, ४, कर्णाली प्रदेश र प्रदेश ७ मा साबिककै क्षेत्रीय प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयमा रूपान्तरण गरिएको छ ।

तर, प्रदेश नम्बर २ र ५ मा भने नयाँ संरचना खडा गरिनुपर्ने भएकाले प्रहरी कर्मचारीको थप दरबन्दी आवश्यक रहेको कार्यालयले जनाएको छ । त्यस्तै, साबिकको ७५ बाट बढाएर ७७ जिल्ला बनाइएको छ । थप गरिएको जिल्लामा कम्तीमा डिएसपीदेखि सिपाहीसम्मको दरबन्दी आवश्यक छ ।

प्रत्येक स्थानीय तहमा प्रहरी निरीक्षकको कमान्डमा कम्तीमा ३५ प्रहरी कर्मचारी रहनुपर्ने कानुनी बाध्यता छ । गृह मन्त्रालयको तथ्यांकअनुसार ३० वटा स्थानीय तहमा प्रहरीको एउटै पनि युनिट राख्न सकिएको छैन ।

प्रकाशित मिति: २० जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्