नेकपाद्वारा मातहतका कमिटीको संरचना तयार, यस्तो छ मापदण्ड


 


काठमाडौं, जेठ २०
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तत्कालीन दुई पार्टीका संगठनलाई प्रदेशदेखि गाउँ कमिटीसम्म समायोजन गर्न मापदण्ड तयार गरेको छ ।

नेकपाले जनवर्गीय संगठन र प्रदेशदेखि गाउँ कमिटीसम्म समायोजन गरी बनाइने नयाँ कमिटी छरितो बनाउने मापदण्ड तयार गरेको हो । नयाँ पत्रिकामा खबर छ ।

सचिवालयले कमिटीमा कस्ता व्यक्तिलाई ल्याउने भन्ने मापदण्ड पनि बनाएको छ । सचिवालयले मापदण्ड तोक्दै तीन महिनाभित्र सबै कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया सक्न अन्तरपार्टी निर्देशन दिइसकेको छ ।

पार्टी कमिटीको एकताका लागि सातै प्रदेशमा तत्कालीन एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई सदस्य रहने गरी कार्यदल गठन गरिएका छन् । यस्तै दुबै पार्टीको जनवर्गीय संगठनको एकताका लागि सम्बन्धीत पार्टीका इन्चार्ज र अध्यक्ष रहेको २२ जनवर्गीय कार्यदल गठन भएका छन् ।

प्रदेश, जिल्ला र स्थानीय कमिटी गठनको मापदण्ड
प्रदेश र जिल्ला संगठनमा अध्यक्ष, सचिव र सदस्यहरुमात्रै रहने गरी कमिटी बन्ने छन् । प्रदेश कमिटी कम्तिमा १५१ सदस्यीय हुने छ । जिल्ला कमिटी भने न्यूनतम कम्तिमा ७५ सदस्यीय हुने छ । तर, प्रदेश र जिल्लाअनुसार कमिटीको आकार केही फरक पर्नसक्छ । प्रदेश र जिल्ला कमिटी सचिवालय भने कमिटीको कूल संख्याको एक तिहाई आधारको बन्ने छ ।

जिल्ला कमिटी कम्तीमा ७५ सदस्यीय हुनेछ । जहाँ एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा प्रत्येक निर्वाचन क्षेत्रबराबर ५ सदस्य थपिनेछ ।

यस्तै, महानगरमा ७५ सदस्यीय, उपमहानगर कमिटी ६१ सदस्यीय, नगर र गाउँ कमिटीमा ५१ सदस्यीय, वडा कमिटी २५ सदस्यीय र प्रारम्भिक कमिटी १५ सदस्यीय बन्नेछ ।

प्रकाशित मिति: २० जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्