जसले आफ्नै लगानीमा प्रधानाध्यापकहरुलाई देशकै नमुना विद्यालयको अवलोकन गराए


 


अछाम, जेठ २४
लगनशीलता र इमान्दारीता भयो भने सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने प्रयासमा सर्वसाधारण व्यक्ति पनि लाग्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्, अछाम साँफेबगरका कृष्ण कुँवरले ।

पेशाले पुस्तक व्यवसायी कुँवर आफ्नो जिल्लाको सामुदायिक विद्यालयको शैक्षिकस्तर कसरी माथि उकास्ने भन्नेबारेमा सधैँ चिन्तित हुन्छन् ।

त्यसैले उनी आफ्नो व्यक्तिगत खर्चमा नगरक्षेत्रका विभिन्न सात वटा सामुदायिक माविका प्रधानाध्यापकलाई अध्ययन अवलोकन भ्रमण गराएका छन् ।

सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गराउने उद्देश्ले कुँवरले प्रधानाध्यापकका टोलीलाई देशकै नमूना सामुदायिक विद्यालयका रुपमा चिनिने बुटवलस्थित कालिका मावि र शान्ति नमूना मावि तथा पोखरा भद्रकाली मावि र तनहुँको सत्यवती माविको अध्ययन अवलोकन गराएका हुन् ।

अध्ययन अवलोकनका क्रममा अछामस्थित सूर्यचन्द्र माविका प्रधानाध्यापक देवेन्द्रबहादुर शाहले सामुदायिक विद्यालयप्रतिको अभिभावकको आर्थिक, भौतिक, नैतिक लगाव तथा शिक्षकको लगनशीलताका कारणले सामुदायिक विद्यालय नमूना बन्न सक्ने कुरा अध्ययनका क्रममा देखिएको बताउनुभयो ।

निजी विद्यालयमा अध्ययन गर्ने छात्रछात्राका अभिभावकले मात्र नभएर सामुदायिक विद्यालयमा अध्ययनरत अभिभावकले पनि विद्यालयलाई मासिक शैक्षिक शुल्क तिर्नुका साथै छोराछोरी विद्यालय पुर्याउने, ल्याउने काम गरेको अवलोकनका क्रममा देखिएको उहाँले जानकारी दिनुभयो ।

“शिक्षक बिदामा बस्दा तीन चार दिन पहिले नै लिखितरुपमा जानकारी दिने गरेको पाइयो” शाहले भन्नुभयो– “यसो गर्दा पढाइमा बाधा नहोस् भनेर विद्यालयले अर्को शिक्षकको व्यवस्था गरेको हुन्छ ।”

बेतालमाडौँ मावि घुघुरकोटका प्रधानाधयापक धर्वेन्द्र शाहले विद्यालयलाई प्रत्यक्षरुपमा राजनीतिक प्रभावबाट बाहिर राख्नसक्ने पनि शैक्षिक गुणस्तरमा धेरै सुधार गर्ने सकिने देखिएको बताउनुभयो ।

शिक्षकले राम्रोसँग पठनपाठन गराएमा अभिभावकले पनि विश्वास गर्ने भएकाले उनीहरुको लगाव विद्यालय माथि हुने गरेको उहाँले बताउनुभयो । प्रभा धम्कोटका प्रधानाध्यापक जोगराज कुँवरले पनि शिक्षक पेशाप्रति इमान्दार र कामप्रति बफादार भएमा मात्र पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर धेरै सुधार गर्न सकिने देखेको बताउनुभयो ।

अध्ययन भ्रमणको आयोजना गर्ने एन्जिला पुस्तक पसल साँफेबगरका सञ्चालक कुँवरले आफूले व्यवसायबाट कमाएको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्नुपर्छ भन्ने सोचले प्रधानाध्यापकहरुलाई विभिन्न जिल्लाका सामुदायिक विद्यालयका शैक्षिक अवलोकन भ्रमण गराएको बताउनुभयो ।

यसले गर्दा जिल्लाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा पक्कै पनि केही टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । अध्ययन अवलोकन भ्रमण जेठ १३ गतेदेखि २१ गतेसम्म चलेको थियो । रासस

प्रकाशित मिति: २४ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्