नेकपाको आम्दानी मासिक १० करोड, के–के हुन स्रोत ?


 


काठमाडौं, असार १०
पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने देखिएको छ ।

पार्टीका संगठित सदस्यबाट मासिक सय रूपैयाँ र साधारण सदस्यबाट मासिक २० रूपैयाँका दरले लेभी उठाउने गरी पार्टी विधानको नियमावली बनाएपछि नेकपाले लेभीबाटै करोडौं रकम आम्दानी गर्ने भएको हो । अन्नपूर्णमा खबर छ ।

विधानअनुुसार पार्टी सदस्यको वर्गीकरण गरिएको छ र त्यही आधारमा नियमावलीमा सदस्यता, नवीकरण शुुल्कको व्यवस्था गरिएको छ ।

दुई ठूला कम्युनिस्ट घटक तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकतापछि गत वैशाखमा बनेको नेकपाले नयाँ पार्टी सञ्चालनका लागि विधान तथा नियमावली निर्माण गरेको हो ।

नेकपाले आफ्नो नवनिर्मित पार्टीको संगठन सदस्य नै ७ लाखभन्दा बढी रहेको दाबी गर्दै आएको छ । पूर्व एमालेको ३ लाख र पूर्व माओवादीको (विराटनगर महाधिवेशन २०६९ सालअनुसार) ४ लाख संगठित सदस्य रहेको दाबी छ । यी दुुईको संगठित सदस्यता जोड्दा ७ लाख पुुग्छ ।

७ लाख संगठित सदस्यले मासिक सय रूपैयाँका दरले लेभी बुुझाउँदा नेकपाले ७ करोड रूपैयाँ आम्दानी गर्नेछ । साधारण सदस्यले मासिक २० रूपैयाँ लेभी बुुझाउनुु पर्नेछ ।

नेकपाको विधानले सदस्य, संगठित सदस्य र मानार्थ सदस्य गरी तीन प्रकारका सदस्यको व्यवस्था गरेको छ । मानार्थ सदस्यका लागि भने विधानमा लेभी रकम तोकिएको छैन । स्वेच्छिक सहयोग गरेमा नेकपाले मानार्थ सदस्यबाट पनि लिनेछ ।

१० लाख पार्टीका साधारण सदस्यमध्येबाट मासिक २ करोड आम्दानी हुुने देखिन्छ । त्यस्तै सांसद, मन्त्री तथा राजनीतिक नियुुक्ति पाउनेहरूबाट पनि नेकपाले मासिक रूपमा लेभी उठाउनेछ ।

नेकपासँग अहिले राष्ट्रिय सभा तथा प्रतिनिधिसभातर्फ कुुल २ सय १३ सांसद छन् । सांसद तथा मन्त्रीहरूबाट मासिक १२ हजार रूपैयाँका दरले लेभी उठाइए पनि कुुल २५ लाख ५६ हजार रूपैयाँ मासिक रूपमा उठ्नेछ । यसमा प्रदेश सभाका सांसद तथा मन्त्रीहरूको रकम जोडिएको छैन ।

प्रकाशित मिति: १० असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्