पहाडी सडकमा दुःखै दुःख 


 


ध्रुव सुवेदी
भोजपुर, असोज ५

लेगुवा सडक अवरुद्ध, भोजपुर—लेगुवा सडक सुचारु, भोजपुर—लेगुवा सडक पुनः अवरुद्ध, भोजपुर—लेगुवा सडक सुचारु, सडक अवरुद्ध हुदा समस्या, यात्रुहरु मारमा, सडक छ, सवारी साधन चल्दैन् । लेगुवा—भोजपुर सडक सुरु भएपछि यहाँका सञ्चारकर्मीहरुले लेखिरहने अनि औषत रुपमा नेपाली सञ्चारमाध्यमा छापिरहने र वजिरहने समाचारका शिर्षकहरु हुन् यी ।

यँहा सडक यातायात शुरु भएको करिब सात बर्ष बित्यो । यहाँका सञ्चारकर्मीले यी सात बर्षमा यी शिर्षक फेर्न पाएका छैनन्, सामान्य फेरदल बाहेक ।

सामान्य शिर्षक फेरबदल त हुन्छ, तर समस्या आखिर यही सडकमा यात्रुहरुले खेप्नु परेको दुःख र पीडा ज्यँु का त्युँ छँदैछ । लेगुवा—भोजपुर सडकको जम्मा—जम्मी दूरी ६६ किलोमिटर छ ।

बर्षाका कारण यो सडक खण्डको विभिन्न ठाउँमा भत्किएको छ । खाल्डाखुल्डी, जलाम्मे र हिलाम्मे त सामान्य नै भयो । अधिकांस ठाउ“को अवस्था एकै हुँदा सवारी साधन कहिले चल्छ, कहिले चल्दैन्, चल्दा गन्तव्यसम्म पुगिदैन् ।

यतिबेला यो सडक खण्डमा जताततै खाल्डाखुल्डी, र हिलाम्मे र सडक पुरै आहाल भएको छ । कतै ट्रक हिलोमा भासिएको, कतै बस हिलोमा गाडीएको, कतै सवारी साधन तान्दै, कतै खन्दै यात्रु र सवारी साधन गुड्ने गरेका छन् ।

बेहाल बनेको सडकको दुरवस्थाले सरकारी लगानीलाई गिज्याइरहेको यात्रुहरु बताउँछन् । यतिबेला भोजपुरबाट श्यामशिला सम्मको सडक खण्डको अवस्था दयानिय छ ।

यो सडक खण्डको २२ किलोमिटर दूरी पार गर्न झण्डै छ घण्टा लाग्न थालेको छ भने सडक बेहाल हुँदा यो खण्डमा यात्रुबाहक सवारी साधन कहिले चल्छन्, कहिले चल्दैनन् । गत केही महिनादेखी लेगुवा–भोजपुर सडक खण्डको कालोपत्रे गर्नका लागि काम शुरु भएकाले अधिकांश सडकको अवस्था यतिबेला विग्रेको छ ।

बर्षातले विगत बर्षहरुमा सुधार भएको सडकको अवस्था पनि दयानिय भएको छ । सडक सुधार हुन थालेपछि विगत बर्षहरुमा यो सडक हेर्दे आएको योजनाले पनि भोजपुर खण्डलाई मर्मत संहार नगर्दा सडक बेहाल भएको हो ।

जसका कारण हजारौ यात्रुहरु समस्यामा परेका छन् । यो खण्डमा सवारी साधन गुड्न थालेको सात बर्ष बिते पनि समस्या कहिल्यै समाधान हुन सकेको छैन् ।

हिले–भोजपुर सडक योजनाले यो सडक सुधारका लागि खर्च गरेको हिसाब निकाल्ने हो भने हजार, लाखमा हैन् करोडौ रुपैयाँ हुन आउँछ, तर यो खर्च बालुवामा पानी खन्याए झै भएको छ । गत बर्ष मात्र यही ठाउँका लागि झण्डै तीन करोड रकम खर्च भएको थियो ।

तर काम गरेको एक बर्ष वित्न नपाउँदै खर्च गरेको चिनोबानो केही छैन् । यो सडक खण्डमा असारे विकासले प्रभाव पारेको सर्वसाधारणको भनाई छ ।

गत बर्ष मात्र करोडौ रकम खर्च गरेर स्तरोन्नती गरेको सडकको यस्तो अवस्था छ, नागरिक समाज भोजपुरका सह–संयोजक नेत्रविनोद लुइँटेल भन्छन्, असारमा विकास हुन्छ, साउनमा विनाश शुरु हुन्छ, जुन अहिले देखिदैछ् । बर्खामा मात्र हैन् भोजपुरमा हिउँदयामा समेत पानी पर्न साथ सडकको अवस्था यस्तै हुन्छ ।

कतिसम्म भने जब आकाशमा कालो बादल मडारिन्छ, भोजपुर–लेगुवा सडक खण्डमा यात्रा गर्ने यात्रुको मनमा चिसो पसिहाल्छ । पानी पर्याे भने सडक अवरुद्ध हुन्छ, गन्तब्यसम्म यात्रा गर्न पाइदैन् ।

यही चिन्ताले भोजपुर–लेगुवा सडक सञ्चालनमा आएदेखी भोजपुरबासीको मनमा घर गरेर बसेको छ । हिउँद होस वा बर्षात कुनै त्यस्तो समय छैन, जब पानी पर्छ भोजपुरमा सडक यातायात सहज ढंगले सञ्चालन होस् ।

पानी पर्न साथ यहाँका सडक सडक हैन खेत जस्ता बन्छन् । हिलाम्मे सडकमा आहाल खेल्छन् सवारी साधन । र, यात्रामा हिड्नु पुर्व आकाश हेर्न बाध्य छन् भोजपुरवासी ।

यो सिजन त पानी पर्ने भएकोले आधा सडकसम्म गाडी नचल्ने अवस्थामा पुगेको छ भने गाउँका सबै सडक बन्द भएका छन् । सडक मर्मत संहार गर्न कसैले चासो देखाएका छैनन् ।

नगरपालिका क्षेत्रमै बढी सडक बेहाल हुँदासम्म नगरपालिकाले चासो दिएको छैन् । विगत बर्षहरुमा ठेकेदार र कर्मचारीका लागि यो सडक ‘दुहुनो गाई’ बनेपछि यसको सास्ती भोजपुरबासी खेप्न बाध्य भएको उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष डम्बर कुमार श्रेष्ठको भनाई छ ।

यतिबेला यो सडककमा मुस्किलले सवारी साधन दैनिक रुपमा गुडिरहेका छन् । पानी पर्न साथ यो सडकका विभिन्न खण्डमा गाडी बन्दनै गर्नुपर्छ ।

लामो समय श्यामशिला–भोजपुर खण्ड बन्द नै भयो । घाम लागेर सडक ओभाएपछि दैनिक गाडी चल्न थालेका छन् । लगातार पानी पर्न साथ सडक बन्द हुने गरेको छ ।

यतिबेला धेरैजसो नगरपालिका क्षेत्रको सडकको बेहाल भएको छ । सडक हिलाम्मे हुँदा बस गुड्नमा समस्या भएको छ भने साना सवारी साधन ठप्प भएका छन् ।

छोटो दुरी पार गर्न समेत घण्टौ समय लाग्दा यात्रुहरु समस्यामा परेका छन् । भोजपुर हुँदै तराई जाने र तराईबाट भोजपुर भित्रने सवारी साधन यतिबेला मुस्किलले चलेका छन् भने समयमा आइनपुग्दा यात्रुहरु बिच बाटोमै अलपत्र हुने गरेका छन् ।

ग्रामिण सडक सबै बन्द

बर्षातले यहाँका सबै ग्रामिण सडक बन्द भएका छन् । बर्षातले ग्रामिण भेगका सडक हिलाम्मे भएपछि यातायातका साधन बन्द भएका हुन् ।

हिउँदयाममा मात्रै सञ्चालन हुँदै आएका धुले सडक यतिबेला पानीले हिलाम्मे भएपछि एक महिना बढीदेखी बन्द अवस्था छन् । यहाँका अधिकांश गाउँमा बस र ट्याक्सी चल्दै आएका थिए ।

भोजपुर–चखेवा, दलगाउँ, ओख्रे, भूल्के, बैकुण्ठे, च्यांग्रे, मानेडाँडा लगायतका कुनै पनी ठाउँमा सवारी साधन चल्न सकेका छैनन् । त्यस्तै भोजपुर–दिङ्ला, कोट, गोगने लगायतका ठाउँमा चल्दै आएका ट्याक्सी समेत बर्षातले चल्न सकेका छैनन् ।

यी ठाउँमा सवारी साधन गुड्न हिउँदयाम नै पर्खनु पर्ने भएको छ । गाउँमा सवारी साधान नचल्दा स्थानीयवासीलाई समस्या भएको छ । मोटरबाटो बिग्रदा गाउँमा एम्बुलेन्स समेत जान नसक्दा विरामीको विजोग हुने गरेको छ ।

ग्रामिण भेगका अधिकांश ठाउँमा मोटरबाटो पुगेपनि मर्मत संहार नहुँदा पानी पर्न साधा सवारी साधन बन्द हुँदै आएका छन् । गाउँमा मोटरबाटो खन्ने लहर चले पनि ट्याक खुलेपछि मर्मत संहार नगर्नाले समस्या निम्तिएको हो ।

महंगीले सतायो, जनजीवन कष्टकर

बर्षायाममा यातायात सेवा नियमित नहुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यात्रु तथा मालवाहक सवारी साधन सहज ढंगले नचल्दा यात्रु र उपभोग्य सामाग्री ढुवानीमा कठिनाई भएको छ ।

यात्रुवाहक सवारी साधन नचल्दा यात्रुहरु पैदल हिंडन बाध्य छन् भने बिरामीको बिजोग हुने गरेको छ । सवारी साधन नचलेपछि जिल्ला अस्पतालबाट अन्यत्र सिफारिस भएका विरामीहरु उपचार गर्न जानबाट वञ्चित हुदै आएका छन् ।

जिल्लामा सञ्चालित एम्बुलेन्स थन्किएर वसेका छन् । कतिपय विरामीहरु हेलिकप्टरलाई एम्बुलेन्स बनाउन वाध्य छन् । त्यस्तै भोजपुर सदरमुकाममा आउने व्यापारिक तथा उपभोग्य वस्तुहरुको ढुवानीमा समस्या भएको भन्दै उपभोग्य बस्तुको मूल्य आकाशिएको छ ।

हिउँद महिनामा नै व्यापारीहरुले भण्डार गरेको सामान यतिबेला कालोबजारी गरी उपभोग्य सामग्रीको मूल्य बढाएको उपभोक्ताको गुनासो छ । दैनिक उपभोग्य समाग्री नुन, चिनी, चामल, मट्टितेल लगायतका सामाग्रीको मुल्य बढेको छ ।

प्रयास धेरै उपलब्धी थोरै

भोजपुरमा सडक शुरु भएपछि नियमित सडक सञ्चालनका लागि प्रयासहरु भने नभएका हैनन् तर यस्ले पूर्णता पाउन सकेको छैन्, जस्ले अहिले पनि दुई दिन पानी पर्नसाथ मोटरबाटो विच्छेद हुने गरेको छ । यस विचमा पूर्वाञ्चल सडक डिभिजन कार्यालय धनकुटा अन्र्तगत हिले—भोजपुर सडक योजनाले करोडौं खर्चियो तर वाहै महिना सञ्चालन हुने गरी सडक वन्न सकेन ।

यो रकमले ६६ किलोमिटर बाटो ग्राभेल भएको हिले भोजपुर सडक योजनाले जानकारी दिए पनि यसको कुने चिनोबानो छैन् । सवारी साधन नियमित सञ्चालनका लागि स्थानीय तवरवाट काम भए पनि त्यो खासै प्रभावकारी भएको देखिदैन् ।

जव वर्षा शुरु हुन्छ अनि सडक वनाउने भनेर सरोकारवाला जुट्ने गरेका छन् । स्थानीय स्तरबाट लाखौ रकम उठाएर खर्च गरे पनि त्यसलै गति भने लिएको देखिदैन् ।

लेगुवा–भोजपुर सडकको जरायोटार खण्डमा बस र ट्याक्टर हिलोमा भाँसिएपछि अलपत्र परेका यात्रु । तस्बिर : देशकोन्युज
लेगुवा–भोजपुर सडकको जरायोटार खण्डमा बस र ट्याक्टर हिलोमा भाँसिएपछि अलपत्र परेका यात्रु । तस्बिर : देशकोन्युज

वर्षातका बेला सडक बनाउने त्यसलाई पानीले बगाएपछि बनाए पनि नवनाए जस्तै हुने गरेको छ । प्रत्येक बर्ष लेगुवा–भोजपुर सडकमा नियमित सवारी साधन गुडाउने भनेर बैठकहरु डाकिन्छन्, यी केबल कोठे गफ र बैठकमै सिमित हुने गरेको छ ।

प्रत्येक बर्ष अर्काे बर्ष चाँही बाहै महिना गाडी गुडाउने भनेर छलफल, सरोकारवालासँग सहमति हुन्छ, तर नियमित सवारी साधन चल्न भने छेपाराको कथा जस्तै बन्ने गरेको छ । यो सडकमा यात्रुहरुले खेप्नु परेको दुः ख र सास्तीले उनिहरु सधै यहाँको राजनीतिक नेतृत्वप्रति आलोचना ब्यक्त गर्छन् ।

र, विकास निर्माणको जिल्लाको राजनीतिक नेतृत्व निकै आलोचित पनि बन्दै गइरहेको छ । जिल्लाबाहिरबाट आएका यात्रुहरुले यो सडकमा भोग्नु परेको दुःख र सास्तीले सधै जिल्लाको खिल्ली नै उडाउने गरेका छन् ।

जिल्ला प्रवेशको मुख्य बाटो नै यस्तो अवस्थामा भएपछि यात्रुहरुले खिल्ली त उडाउने भए नै आखिर यो सडक खण्डमा बार्है महिना सवारी साधन कहिलेबाट सञ्चालन हुन्छ ? यो निकै पेचिलो र गहन प्रश्न बनेको छ ।

यो सडक कालेपत्रेको काम पनि शुरु भएको छ । सबै कुरा मिल्दै गए अबका दुई बर्ष पछि भोजपुरमा नियमित सवारी साधन सञ्चालन होला, अहिलेलाई आश मात्र गर्न सकिन्छ भरोसा गर्ने ठाउँ कत्ति पनि छैन्, भोजपुरमा नियमित गुड्ने सपना ।

प्रकाशित मिति: ५ आश्विन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्