काँग्रेस केन्द्रीय समिति बैठक शनिबार



काठमाडौँ, भदौ ८

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक भोलि शनिबार बस्ने भएको छ । पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेताहरुबीच आज दिनभरको छलफल र सहमतिपछि बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको हो ।

पार्टीका विभिन्न समितिको गठन र महासमिति बैठकको तयारीका सम्बन्धमा शीर्षनेताहरुबीच सल्लाह गरी टुङ्गो लगाएर मात्र बैठक बस्ने सहमति भएपछि बैठक भोलिका लागि तय भएका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले बताउनुभयो ।

विशेषगरी महासमिति बैठकको स्थान र मिति, कार्यसम्पादन तथा अनुशासन समिति गठनका सम्बन्धमा नेताहरुबीच छलफल भएको उहाँले जानकारी दिनुभयो । “धेरै विषयमा सहमति भए पनि केही विषयमा टुङ्गो लाग्न बाँकी छ,” नेता बडूले भन्नुभयो ।

गत वैशाख १६ गते सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यही भदौ महिनामा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । उक्त बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनः संरचनाअनुसार पार्टीको पुनः संरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पनि गरेको थियो ।

सोही निर्णयअनुसार बिहीबार काँग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । मस्यौदा समितिमा काँग्रेसका जिल्ला सभापतिहरुले पनि सहभागिता खोजेपछि शीर्षनेताहरुले त्यसलाई सम्बोधन गर्ने सम्बन्धमा पनि छलफल गर्नुभएको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News