सेती अञ्चल अस्पतालको अर्को गल्तीः शिशु नै साटिदियो


 


धनगढी, भदौ २२
कमजोर व्यवस्थापन र लापरबाहीका कारण बेला बेलामा चर्चामा आइरहने धनगढीस्थित सेती अञ्चल अस्पतालमा फेरी अर्को गम्भीर लापरबाहीको घटना सार्वजनिक भएको छ ।

चिकित्सकको लापरबाहीले बिरामीले सर्वशुलभ सेवा नपाएकोदेखि मृत्यु भएकोे घटना सार्बजनिक भइरहेका बेला यसपटक फेरी शिशु नै साटिदिएको छ ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ जमुनाभाडीकी काली खातीले भाद्र १७ गते सेती अञ्चल अस्पतालमा छोरी जन्माउनुभएको थियो । आफ्नै जन्मिएको छोरी भनेर लगिएको शिशु घर पुग्दा त छोरा देखियो ।

कारण जन्मिदा छोरी भनिएको शिशुलाई अर्को शिशुसंग साटिएको रहेछ । घर पुगेको केहि समयमै फोन आएपछि पुनः अस्पताल पुग्नुभएकी कालीले साचो कुरा तब थाहा पाउनुभयो जब उहाँलाई त्यो बच्चा अर्कैको हो भनेर ।

त्यो बच्चाकी आमा हुनुहुन्थ्यो डडेल्धुराको आलीतालकी भावना बोहरा । भावना वोहरा १७ दिनको बिरामी छोरालाई लिएर भदौ १७ गते नै अञ्चल अस्पतालमा पुग्नुभएकोथियो । निमोनियाका बिरामी छोरालाई अस्पतालको एनआइसीयुमा भर्ना गरिएको थियो ।

त्यहि दिन जन्मिएकी कालीकी छोरीको स्वास्थ्य स्थिति ठीक नभएपछि उनलाई पनि एनआईसीयूमा नै भर्ना गरियो । तर, पछि एनआइसीयूबाट छोरीको सट्टा छोरा दिएको काली खातीका श्रीमान मेघराज खातीले बताउनुभयो ।

खातीका आफन्तहरुले अस्पतालले गैरजिम्मेवारपूर्ण ढंगले बदमासी गरेका आरोप लगाएका छन् । उनीहरुले अस्पतालले बच्चा साटासट हुँदा पनि गल्ति स्विकार नगरेको आरोप लगाएका छन् ।

विहीबार अस्पताल पुग्नुभएका खातीका आफन्त र छिमेकीहरुले अस्पतालका कर्मचारी र प्रहरीले पनि घटनालाई गम्भीर रुपमा नलिएको बताएका छन् ।

अस्पतालले भने भावना बोहरा भनेर बोलाउदा काली खातीकी आमा दिलु वोहरा आएर बच्चा लगेकाले यस्तो भएको बताएको छ । अहिले भने दुई आमाले आफ्ना बच्चालाई लिइसक्नुभएको छ । तर, अञ्चल अस्पतालको यस्तो लापरबाहीको भने सर्बत्र बिरोध हुन थालेको छ ।

प्रकाशित मिति: २२ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्