चीन पुगेर उपराष्ट्रपतिले भने, ‘नेपाल–चीन सम्बन्ध नङ र मासुजस्तो’



काठमाडौं, असोज ४
उपराष्ट्रपति नन्दबहादुर पुन बुधबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएको छ । बुधबार साँझ उहाँले चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ तथा मासुजस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताउनुभयो । उहाँले १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल चीनबीच सदियौंदेखि सांस्कृतिक एवं विविध सम्बन्ध रहँदै आएको चर्चा गर्नुभयो ।

उपराष्ट्रपति पुनले नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका व्यापार तथा पारवहान सम्झौता र चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ (बिआरआई)मा भएको हस्ताक्षर नेपालका लागि विशेष रहेको बताउनुभयो ।

उहाँले चिनियाँ बन्दरगाहा प्रयोगसम्बन्धी सम्झौतामा चाँडै हस्ताक्षर गर्न आग्रह गर्दै यसबाट नेपाल भूपरिवेष्ठित मुलुक नरहने बताउनुभयो ।उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमिमा चीनविरुद्ध गतिविधि गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लासा, काठमाडौँ, लुम्बिनी रेलमार्ग बनेमा चीनलाई भारत हुँदै दक्षिण एशियासम्म जोड्न सकिने र त्यसबाट दुबै देश लाभान्वित जानकारी दिँदै उहाँले अवरुद्ध तातोपानी नाका सञ्चाल, केरुङ नाकाको स्तरोन्नति, ओलाङचुङगोलालगायतका नाका सञ्चालनमा पनि जोड दिनुभयो ।

भेटका क्रममा उहाँले नेपालले बुधबार नै संविधान दिवस मनाइएको स्मरण गर्दै संविधान जारी भएपछि तीन तहको निर्वाचन सम्पन्न भएर स्थायी सरकार बनेपछि सरकारको ध्यान ध्यान आर्थिक समृद्धितर्फ गएको बताउनुभयो ।

नेपालमा वैदेशिक लगानीका लागि पूर्ण वातावरण बनेको बताउँदै चिनियाँ लगानीकर्तालाई नेपालमा थप लगानीका लागि प्रोत्साहित गरिदिन आग्रह गर्दै उपराष्ट्रपति पुनले नेपालको जलविद्युत्, कृषि, पर्यटन, जडिबुटी, भौतिक पूर्वाधार निर्माणमा लगानी गर्न सहज हुने बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

सो अवसरमा चीनका उपप्रधानमन्त्री हुले नेपाल चीनको घनिष्ठ र साझेदारी देश भएको बताउँदै नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन ‘‘बेल्ट एण्ड रोड एनिसियटिभ’ कार्यक्रममार्फत अघि बढेकोे बताउनुभयो ।

उहाँले नेपालले एक चीन नीतिप्रति जनाएको दृढ समर्थन र स्वतन्त्र तिब्बत गतिविधि नियन्त्रणमा निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिनुभयो । उपप्रधानमन्त्री हुले नेपालमा स्वतन्त्र तिब्बतसम्बन्धी कुनै पनि गतिविधि नहुने र नेपाल सरकारले गर्न नदिनेमा चीन पूर्ण विश्वस्त रहेको जानकारी दिनुभयो ।

काठमाडौँसम्म रेल पु¥याउन भइरहेको प्रयासलाई प्रभावकारी बनाउने, तातोपानी नाका सञ्चालनमा ल्याइने, केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास गर्न पहल गरिने जानकारी दिँदै उपप्रधानमन्त्रीले हुले नेपालमा लगानीका लागि चीन सरकारले व्यवसायीहरुलाई प्रोत्साहन गरिरहेको पनि बताउनुभयो ।

सत्रौँँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा भाग लिन उपराष्ट्रपति बुधबार छुन्दु पुग्नुभएको थियो । उहाँले बिहीबार मेला उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News