विप्लवको नेकपासंग वार्ता गर्दै सरकार, विप्लवले राख्यो यस्ता तीन शर्त


 


काठमाडौं, असोज ५
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसंग वार्ता गर्न सरकारले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई रिहा गर्ने भएको छ ।

विप्लव वार्तामा आउन तयार भएपछि सरकार अदालतले प्रकाण्डलाई छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । नयाँ पत्रिकामा खबर छ ।

नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले यस्तो रणनीति बनाएको हो । सरकार वार्ताको वातावरण बनाउन तयार रहेको र त्यसका लागि पक्राउ परेका कुनै पनि नेता–कार्यकर्तालाई अबदेखि अर्को मुद्दा नलगाउनेतयारी छ ।

सरकारले वार्ता गर्न आव्हान गरेपछि विप्लवले तीन शर्त अगाडि सारेको छ । विप्लव नेतृत्वको नेकपाका नेताहरूले वार्तामा बस्नुअघि तीनवटा मुख्य माग पूरा हुनुपर्ने शर्त राखेको सरकारी वार्ता टोलीका एक सदस्यले बताए ।

जसमा सरकारले आफ्नो पार्टीलाई राजनीतिक पार्टी या हिंसात्मक समूह कुन दृष्टिकोणका साथ हेरिरहेको छ प्रस्ट औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने, देशव्यापी गैरकानुनी धरपकड बन्द गरेर पक्राउ परेका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा, पदम राई, किरण राई, उमा भुजेलसहित पोलिटब्युरो र केन्द्रीय तहका नेताका साथै सबै कार्यकर्तालाई विनासर्त रिहा गर्नुपर्ने तथा विनाअवरोध राजनीतिक पार्टीको हैसियतमा निर्वाध गतिविधि गर्न पाउनुपर्ने छन् । उसले यी शर्त पूरा भएमात्र वार्तामा बस्ने जनाएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्