थाइल्याण्डसंग नेपाल २–० गोल अन्तरले पराजित


 


आगरा (भारत), असोज ६

भारतको आगरामा सुरु एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा थाईल्याण्डसंग नेपाल पराजित भएको छ । समूह ‘ए’ अन्तर्गत शनिबार भएको दोस्रो खेलमा थाईल्याण्डले २–० गोल अन्तरले नेपाललाई पराजित गरेको हो ।

शारीरिक रुपमा मजवुत देखिएको थाईल्याण्ड भन्दा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नतिजा भने आफ्नो पक्षमा पार्न सकेन । आगरा स्थित प्रिल्युड पब्लिक स्कुलको खेलमैदानमा समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा चीनले अफगानिस्थानलाई ८–० गोल अन्तरले पराजित गर्यो । त्यस लगत्तै भएको दोस्रो खेलमा नेपालले पनि पराजयको नतिजा हात पारेको हो । गोल गर्ने धेरै अवसरको सिर्जना गरे पनि फिनिसिङ फितलो हुुनु नेपालका लागि दुर्भाग्यपूर्ण बन्यो ।

प्रतियोगिता ४६ औं संस्करणमा पुग्दा पहिलो पटक भाग लिने अवसर पाएको नेपालले सुरुवात भने चित्त बुझ्दो गरेन । थाईल्याण्डले खेलको २१ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै नेपाललाई दवावमा राखेको थियो । पाडुङ्किट आटिकानको गोलबाट थाईल्यायाण्डले अग्रता लियो ।कोरियन रेफ्रीको गलत निर्णयका कारण थाईल्याण्डले फ्रिकिकको अवसर पाएको थियो ।

नेपाली खेलाडी १० जनामा सीमित भएको मौकामा ७६ औं मिनेटमा थाना इसोरले गोल थपेर थाईल्याण्डको जित पक्का गराए । नेपाली खेलाडीले क्लियर गर्न नसकेको बललाई उनले जाली चुमाइदिएका हुन् ।

रेफ्रीको गलत निर्णयले ६४ औं मिनेटमा नेपाल १० खेलाडीमा सीमित बन्यो । फरवार्ड बुद्ध वल तामाङलाई विना कारण रातो कार्ड देखाएर मैदान छोडाउँदा नेपाल १० खेलाडीमा खुम्चियो । २४ औं मिनेटमा थाईल्याण्डका गोलरक्षकलाई गलत ट्याकल गरेको भन्दै उनलाई पहिलो पटक पहेंलो कार्ड दिइएको थियो । त्यसपछि थाईल्याण्डका खेलाडीलाई फल गरेको भन्दै दोस्रो पहेंलो कार्ड दिइएको थियो । त्यसपछि रातो कार्ड खाएका उनी मैदान छाड्दा नेपाली टोली थप दवाव झेल्न बाध्य भयो । आफ्ना खेलाडीलाई रातो कार्ड दिएको विषयमा नेपाली प्रशिक्षक, व्यवस्थापक र उपस्थित दर्शकले समेत असन्तुष्टि जनाए ।

खेलको ६ औं मिनेटमा अनिल महर्जनको प्रहार वायाँ बार हुँदै बाहिरिंदा नेपाल खेलमा अग्रता लिनबाट चुक्यो । २८ औं मिनेटमा कप्तान दिनेश हेन्जनको फितलो फ्रिकिक प्रहारका कारण नेपालले खेलमा फर्कने अवसर गुमायो । ३० औं मिनेटमा नितिन थापाको प्रहराले पनि पोष्टको बाटो देख्दा नेपाल अभागी ठहरियो । ३७ औं मिनेटमा जय गुरुङको प्रहार क्रस बारमाथिबाट बाहिरियो । ३९ औं मिनेटमा अनिल महर्जनकै प्रहारमा थाईल्याण्डका गोलरक्षक बाधक बन्दा पहिलो हाफमा नेपालले गोल फर्काउन पाएन । ५० औं मिनेटमा अनिलकै प्रहारलाई थाईल्याण्डका गोलरक्षकले बचाइदिंदा नेपालले सुरुवाती जितको अवसर गुमायो ।

नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले खेलाडीले राम्रो प्रदर्शन गरे पनि नजिता आफ्नो पक्षमा पर्न नसकेको बताए । ‘उत्कृष्ट प्रदर्शन गरे पनि स्कोर निकाल्न नसक्नु दुर्भाग्यपूर्ण बन्यो,’ उनले भने, ‘फिनिसिङमा नेपालको पुरानै समस्या देखियो ।’नेपालले सोमबार इन्डोनेसियाको सामना गर्नु पर्ने छ ।

समूह ए मा थाईल्याण्ड, इन्डोनेसिया, अफगानिस्थान र चीन रहेका छन् । समूह बी मा आयोजक राष्ट्र भारत, भुटान, दक्षिण कोरिया, मलेसिया र श्रीलंका रहेका छन् । शनिबारको पहिलो खेलमा भारत र मलेसियाले १–१ गोलको बराबरी खेलेका छन् । दोस्रो खेलमा कोरियाले श्रीलंकालाई पराजित गर्यो ।

प्रकाशित मिति: ६ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्