गौ हत्याको सजाय कम भएपछि धमाधम कैदमुक्त


 


सोलुखुम्बु, असोज १३
सोलुखुम्बुमा गौ हत्या गर्ने चार जनालाई थुनामुक्त गर्न जिल्ला अदालतले आदेश दिएकोछ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो ।

आदेशंगै सोलुखुम्बुको साविक चौरीखर्क गाविस–८ का दावाकाजी शेर्पा, बुङ् गाविसका गन्जधन कुलुङ राई , रजप्रसाद राई र नेचासल्यान गाउँपालिका–२ का हेमन्त राई कैदमुक्त भएका हुन् ।

पुरानो कानूनअनुसार १२ वर्षको कैद भुक्तान गरिरहेका चार जनाले यही भदौ ५ गते नयाँ कानूनअनुसार कैद घटाइपाउँ भनी निवेदन दिएका थिए ।

दावाकाजी शेर्पा, गन्जधन कुलुङ राई र रजप्रसाद राईलाई जनही रु २२÷२२ हजार जरिवानासहित र हेमन्त राईलाई विना जरिवाना कैदमुक्त गरिएको हो ।

हेमन्तले गाईहत्या मात्र गरेकाले जरिवाना नगरिएको तथा अन्य तीनले गाई चोरीसमेत गरेकाले जरिवाना तिराइएको अदालतको ठहर छ ।

तीन जना विसं २०७१ असोज ८ गते पक्राउ परेका थिए भने हेमन्त राई विसं २०७० चैत १७ गते पक्राउ परेका थिए । हेमन्तलाई २०७१ जेठ १४ गतेको फैसलाले थुनामा राख्न आदेश भएको थियो भने बाँकी अरूलाई विसं २०७१ असोज ८ गतेको पैmसलाले थुनामा राखिएको थियो ।

उनीहरूलाई तत्कालीन प्रचलित कानूनअनुसार १२ वर्षको सजाय भएको थियो भने हाल बहाल रहेको मुलुकी अपराध संहिता २०७४ को परीक्षद २७ को पशुपछीसम्बन्धी कसुरको दफा २८९ को उपदफा २ बमोजिम गौ हत्याको तीन वर्ष कैद सजायको व्यवस्था गरिएको छ । रासस

प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्