१७ महीनापछि हवाई उडान


 


मुसिकोट, ७ कात्तिक

रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ । सत्र महीनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान शुरु गरेको हो ।

हप्ताको दुई दिन बुधबार र बिहीबार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताउनुभयो ।

उहाँका अनुसार बुधबार काठमाडौँ–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान हुने बताइएको छ ।

उडान शुरु भएको आज पहिलो दिन चौरजहारीबाट एक बिरामीसहित आठ जनाले नेपालगञ्जसम्मको हवाईयात्रा गरेका छन् । झण्डै डेढ वर्षपछि यहाँको हवाईसेवा सञ्चालनमा आउँदा सर्वसाधारणमा खुशी छाएको छ ।

हवाई सेवाले रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई छिटो यात्राका लागि सहज गराएको छ । आजदेखि निगमको जहाजले पुनः उडान शुरु गरेसँगै यहाँको नयाँ भाडादरसमेत कायम गरिएको छ ।

अबदेखि चौरजहारीबाट काठमाडौँका लागि रु आठ हजार र नेपालगञ्जलाई रु तीन हजार भाडादर निर्धारण गरिएको स्टेशन प्रमुख नेपालीले जानकारी दिनुभयो ।

यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै गत वर्षको जेठ अन्तिम साताबाट यहाँको उडान बन्द गरिएको थियो ।

बन्द हवाईसेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसँग पहल गर्दै आएका थिए ।

विसं २०२८ बाट सञ्चालनमा आएको उक्त विमानस्थलको थप स्तरोन्नतिका लागि पाँच वर्षअघि धावनमार्गमा कालोपत्रे गरिएको थियो ।

प्रकाशित मिति: ७ कार्तिक २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्