असिनापानीबाट दुई करोडको सुन्तला नष्ट


 


वालिङ, कात्तिक ८

असिनापानीले स्याङ्जामा रु दुई करोड बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको हो ।

“गत असोज २१ गते विशेषगरी पुतलीबजार नगरपालिकाका विभिन्न भेगमा ठूलो असिनापानी आयो र हामीले यस कार्यालयबाट एक हप्ताको समयमा सम्बन्धित क्षेत्रमा पुगेर क्षतिको विवरण सङ्कलन गर्यौँ” बरिष्ठ कृषि अधिकृत मदनकुमार श्रेष्ठले भन्नुभयो, “असिनापानीले सुन्तलाबालीमा ठूलो क्षति पुर्याएको छ ।”

असिनापानीले सबैभन्दा धेरै पुतलीबजार नपा १० मा २१४, ११ नं वडामा १८६, १३ नं वडामा ८७, भीरकोट नपा १ नं वडामा ११ र पुतलीबजार १४ नं वडामा ११ गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको बरिष्ठ कृषि अधिकृत श्रेष्ठले बताउनुभयो । रासस

प्रकाशित मिति: ८ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्