ओखलढुङ्गामा ८०० करदाता बढे


 


ओखलढुङ्गा, कात्तिक ८

ओखलढुङ्गामा करदाताको सङ्ख्या बढेको छ । विगतमा निकै कम करदाता भएको जिल्लाका रुपमा चिनिएको ओखलढुङ्गामा पछिल्लो तीन महीनामा करदाताको सङ्ख्या ह्वात्तै बढेको हो ।

बितेको आर्थिक वर्ष र चालू आर्थिक वर्षको तीन महीनाको अवधिमा ८०० करदाता बढेको आन्तरिक राजश्व कर कार्यालय लहानका कर अधिकृत पशुपति घिमिरेले बताउनुभयो । “कर कार्यालय लहान र ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घ दुवैबाट हामीले कर तिर्ने र व्यवसायीहरुलाई नयाँ प्यान नं जारी गर्ने व्यवस्था मिलाएका छौँ,” घिमिरेले भन्नुभयो, “त्यसैले गर्दा ओखलढुङ्गामा करदाताको सङ्ख्या बढेको हो ।”

उहाँका अनुसार आव २०७३/७४ मा एक हजार ४०० सङ्ख्यामा रहेका करदाता गत आवमा भने उल्लेख्य थपिएका थिए । चालू आवकोे असोज मसान्तसम्म जिल्लाबाट राजश्व बुझाउने करदाता सङ्ख्या दुई हजार ३०० पुगेको आन्तरिक राजश्व कार्यालय लहानले जनाएको छ ।

आन्तरिक राजश्व कर कार्यालय लहानसँगको सहकार्यमा ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घले २०७१ सालबाट जिल्लाबाटै अस्थायी प्यान नम्बर जारी गरिरहेको छ । रासस

प्रकाशित मिति: ८ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्