इलाममा मल अभाव


 


इलाम, कात्तिक ९

हिउँदे आलु रोप्ने याममा डिएपी मलको अभाव भएको छ । मल अभाव भएपछि किसान समस्यामा परेका छन् । मल बिक्री गर्दै आएको कृषि सामग्री संस्थान इलामस्थित डिपो एक महीनादेखि रित्तो छ ।

ग्रामीण भेगमा मल बिक्री गर्दै आएका विभिन्न सहकारी संस्थाले डिएपी मलको माग गर्दै आएको कृषि सामग्री संस्थान कार्यालयका प्रमुख गोमा राईले बताउनुभयो । “तिहारपछि मात्रै डिएपी मल उपलब्ध गराउन सक्छौँ,” उहाँले भन्नुभयो ।

संस्थानले जिल्लाका ४३ सहकारी संस्थामार्फत मल बिक्री गर्दै आएको छ । एक पटकमा एउटा सहकारीलाई युरिया, डिएपी र पोटास एक/एक बोरा उपलब्ध गराउँदै आएको छ ।

जिल्लामा युरिया प्रतिबोरा रु एक हजार १४, डिएपी रु दुई हजार ३६४ र पोटास रु एक हजार ६६४ मा डिपोबाट बिक्री गरिँदै आएको छ । युरिया ७५ मेट्रिक टन तथा पोटास दुई मेट्रिक टन मौज्दात रहेको संस्थानका कार्यालय प्रमुख राईले बताउनुभयो । रासस

प्रकाशित मिति: ९ कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्