इलाममा लगानी सम्मेलन हुने


 


इलाम, कात्तिक ११

इलाम जिल्लामा पर्याप्त सम्भावना बोकेका क्षेत्र भएपनि लगानी गर्न नसकेको भन्दै इलाम नगरपालिकाले यी क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धन गर्न लगानी सम्मेलन गर्ने भएको छ ।

बाह्य लगानी कम भएको भन्दै नगरपालिकाले नगरपालिकाभित्रका पाँच क्षेत्रमा आउँदो कात्तिक २५ गते ‘लगानी सम्मेलन’ गर्ने भएको हो । नगरका कृषिजन्य उद्योग, पर्यटन, उच्च शिक्षा, स्वास्थ्य क्षेत्र र जडीबुटी उद्योग शीर्षक राखेर गरिने सो सम्मेलनमा प्रधानमन्त्री, अर्थमन्त्री लगायतका अन्य मन्त्रीसहित निजी क्षेत्रका अन्य लगानीकर्ताको उपस्थिति रहने जानकारी गराइएको छ ।

इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष आनन्द कट्टेल जिल्लामा लगानी गर्न लगानीकर्तालाई आह्वान गर्न लागिएको बताउनुहुन्छ । सम्मेलनमा लगानीकर्तालाई लगानी गर्ने क्षेत्रबारे जानकारी गराइनेछ । “सम्मेलनमा विशेषगरी ठूला लगानीकर्तालाई निमन्त्रणा गर्ने योजना छ,” नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले भन्नुभयो ।

लगानी आकर्षण गर्न नगरले लगानी प्रवद्र्धन नीति र घरेलु उद्योग प्रवद्र्धन नीति बनाउने निर्णय गरेको छ । गुणस्तर चिन्ह प्राप्त गर्न सहयोग गर्ने, विज्ञ सहितको परामर्श सुविधा उपलब्ध गराउने, इलाम नगरपालिकामा दर्ता भएका उद्योगमा कार्यरत मजदूरको आपतकालीन सहयोगको लागि मजदूर कल्याण कोषको स्थापना गर्ने, उद्योग भवनको नक्सा पासमा ५० प्रतिशत राजश्व छुट गर्ने, सम्पत्ति कर र मालपोत करमा पाँच वर्षसम्म ५० प्रतिशत छुट गर्ने, जग्गा अधिग्रहणमा सहयोग गर्नेलगायत कुरा सो नीतिमा उल्लेख छ । रासस

प्रकाशित मिति: ११ कार्तिक २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्