झापामा ‘सुपारी जोन’ कार्यक्रम


 


झापा, कात्तिक ३०

कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा धान र रबरसँगै ‘सुपारी जोन’ कार्यक्रम अघि बढाइएको छ । सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले झापामा सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।

मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकालाई समेटेर ‘सुपारी जोन’ कार्यक्रम लागू गरिएको जोनका प्रमुख राजेन्द्र खरेलले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना भएको ‘सुपारी जोन’मा किसानलाई सुपारी खेतीतर्फ आकर्षित गर्नका लागि अनुदान तथा प्रोत्साहन दिन चालु आवमा रु ३० लाख विनियोजन गरिएको छ ।

जिल्लामा सुपारीको व्यावसायिक खेतीबाट २० हजार कृषक लाभान्वित भएको खरेल बताउनुहुन्छ । हाल दुई हजार ६३१ हेक्टर जग्गामा गरिएको सुपारी खेतीबाट वार्षिक नौ हजार ७१० मेट्रिक टन सुपारी उत्पादन भइरहेको छ । “सुपारी जोन कार्यक्रम सञ्चालनपछि उत्पादन बढ्ने, यसमा आश्रित किसानले नयाँ प्रविधि, सिँचाइ, मल र ऋण पाउने छन्,” खरेलले भन्नुभयो । बढी सुपारी उत्पादन हुने मेचीनगरका चार वडा, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकाको दुई हजार हेक्टर क्षेत्रफलमा सुपारी खेती भइरहेको छ । रासस

प्रकाशित मिति: ३० कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्