हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या


 


इलाम, मंसिर ३

यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ ।

सरकारले चियाको बजारीकरणको राम्रो व्यवस्था नगरिदिँदा चिया निकासी हुन नसकेको चिया उद्यमीको गुनासो छ । राम्रो उत्पादन भएको मौसममा भाउ नआउने र मूल्य निर्धारणमा समेत एकरुपता नहुनाले बढी समस्या भएको ग्रीन हिल अर्थोडक्स चिया प्रशोधन उद्योग साखेजुङका टंक दाहाल बताउनुहुन्छ ।

“मार्केट हेरेर मात्र हाम्रो उत्पादनको मूल्य निर्धारण गरिन्छ । कसरी त्यसो भएपछि चियाको उचित मूल्य पाइन्छ”, दाहालले भन्नुभयो, “यति मात्र होइन उद्योग सञ्चालन गरेको समयमा बत्ती पनि हुँदैन ।

सरकारले चियाको हरियो पत्तीको मूल्य तोकिदिन सकेको छैन । त्यही कारण मूल्यमा एकरुपता नभएकाले चिया उद्योगैपिच्छे फरकफरक मूल्यमा चिया बिक्री हुने गरेको छ ।

भारतले छोटो समयमा नै हरियो पत्तीको मूल्यमा परिवर्तन गरिदिनाले आफ्नो उत्पादन कतिमा बिक्री हुन्छ भन्ने पनि अन्योलता देखिएको छ । सरकारसमक्ष पटकपटक आग्रह गर्दासमेत चियाको मूल्य निर्धारण हुन नसक्दा कम मूल्यमा बेच्नुपर्ने गरेको सहकारी संस्थाका विष्णुप्रसाद दुलालले बताउनुभयो । रासस

प्रकाशित मिति: ३ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्