पलायन रोज्दै चिया किसान



झापा मंसिर ९

बढ्दो लागत खर्च धान्न नसक्दाको आर्थिक बोझ, उत्पादनको मूल्य पाउन गर्नुपरेको संघर्ष र रोगाएको चिया जोगाउन नसक्दाको हैरानीले झापाका धेरै साना चिया किसानलाई खेतीबाट पलायन हुन बाध्य पारिरहेको छ । विगतमा ठूलो उत्साहले अन्नबाली मासेर चियामा लगानी गरेका किसान खर्च धान्नै धौ–धौ हुने अवस्था आएपछि पुरानै शैलीको खेतीमा फर्कन विवश बनेका हुन् ।

पूर्वमा सबैभन्दा धेरै सीटीसी चिया उत्पादन हुने झापामा तीन हजारभन्दा बढी संख्यामा साना किसान चिया खेतीमा छन् । तर, तीमध्ये कति किसान खेतीमै छन्, कतिले बगान मासे भन्ने यकिन तथ्यांक कसैसँग छैन । किनभने, चिया खेती प्रवद्र्धन गर्ने र किसानलाई सघाउने जिम्मेवारी लिएको चिया तथा कफी विकास बोर्ड साना किसानको सम्पर्कभन्दा सधैँ टाढा नै रहेको आरोप लाग्दै आएको छ । किसानका संगठन र तिनका अगुवाहरुका अनुसार चिया खेतीबाट पलायन हुनेहरुका संख्या लगातार बढ्ने क्रममा छ । ‘हरेक वर्ष कम्तीमा १०–१५ परिवारले चिया बगान मास्दै जान थालेका छन्’, किसान पुष्पराज निरौला भन्छन् ‘बैंकको किस्ता तिर्ने उपाय नभएपछि मासेर जग्गा नै बेचेकाहरु पनि छन् ।’

तिनैमध्येका एक हुन्, हल्दीबारी ४ का किसान टंक मैनाली । २०५७–०५८ सालमा कृषि विकास बैंकबाट ऋण लिएर घर नजिकैको दुई विघा जमिनमा चिया लगाएका मैनालीले यसपटक १५ कट्ठा बगान मासे । त्यहाँ गाई पालनका लागि फार्म बनाएका छन् । बाँकी रहेको २५ कट्ठा चिया पनि अर्को वर्षभित्र मासिसक्ने योजनामा उनी छन् । ‘लगाउँदा जत्तिकै पैसा मास्दा पनि लाग्नेरहेछ’, मैनालीले भने ‘त्यसैले अर्को वर्षभित्र सबै मास्ने योजना छ ।’ यति चाँडै चिया खेतीबाट मोह भंग हुनुको कारण धेरै रहेको उनी बताउँछन् । ‘सबैभन्दा पहिलो कुरा त मूल्य पाउनै मुश्किल भयो, कहिल्यै पनि लागत खर्च उठ्ने गरी भाऊ पाइएन’, उनले सुनाए ‘लगानी बढेको बढ्यै हुने तर आम्दानी घटेको घट्यै हुने, त्यो पनि सडकमा पुगेर आन्दोलन नगरेसम्म पैसा नपाइने समस्याले दिक्क लगायो ।’

उनका अनुसार हरेक वर्ष चियाको बोट सुरक्षाका लागि ठूलै लगानी गर्नुपर्ने हुन्छ । बोटको ढाँचा तयार पर्न कटिङ गर्ने, सफा गर्न गोडमेल गर्ने, औषधि छिट्ने, सिञ्चाई गर्ने, मलखाद हाल्ने, नाला निर्माण र सफाई अनि हरियो पत्ति टिप्ने र चिया उद्योगसम्म पुर्याउने काममा किसानले लगानी गर्नुपर्छ । ‘यति गरेर उत्पादन भएको चिया प्रतिकेजी १२–१३ रुपैयाँमा बेच्नुपर्छ’, उनले भने ‘त्यसले लगात खर्च उठाउँदैन ।’ त्यसमाथि रोगले गाँज्यो भने त किसानले गर्ने उपाय केही पनि हुँदैन ।

चिया तथा कफी विकास बोर्डको वेवसाइटमा उल्लेखित विवरण अनुसार आर्थिक वर्ष २०७०–७१ देखि चालु आर्थिक वर्षसम्म आइपुग्दा हअरेक वर्ष सरदर ७ सय हेक्टर चिया खेती घटेको छ । ‘पहिले दोब्बरको आकारमा बढेको तथ्यांक हुन्थ्यो’, सुरेन्द्रनगर चिया सहकारीका उपाध्यक्ष डम्बर बराल भन्छन् ‘चार–पाँच वर्षयता खेती बढ्ने क्रम सुस्त छ । पहिलेका किसान विरक्त भएर पलायन भएपछि नयाँले चियामा लगानी गर्ने आँट नगरेका हुन् ।’

उनका अनुसार जिल्लाका २५ प्रतिशतभन्दा बढी किसानले आफूले गरेको लगानी माया मारेर थोरै आम्दानीको लोभमा धमाधम ठेक्का दिन थालेका छन् । ‘बजारको निश्चितता हुने, उद्योगीको मनपरी रोक्ने तथा किसानलाई प्राविधिक सहयोग हुने हो भने पलायन रोकिन्थ्यो’, बरालले भने ‘तर, केही छैन । यस्तै अवस्था रहे अबको केही वर्षमा ठूला घराना मात्रै चियामा सामेल हुने साना किसान नहुने अवस्था आउने निश्चित छ ।’

सधैंभरीको मूल्य विवाद तथा मल, सिञ्चाई र मजदुर अभावको पीडामाथि बोट पनि मर्ने समस्या थपिएपछि झापाका चिया किसान खेती मास्ने अवस्थामा पुगेका हुन् । पछिल्लो आधा दशकभित्र झापाका दर्जनौं चिया किसानले यही समस्या झेल्न नसकेर खेती मासेका छन् । बहुवर्षीय नगदे बालीको रुपमा चिनिएको चिया खेतीबाट झापाका किसान बिस्थापित हुने क्रम तीव्र भएको चिया क्षेत्रमै रहेका जानकारहरु बताउँछन । पछिल्लो तीन वर्षे अवधिमा मात्रै कम्तीमा तीन दर्जन किसानहरुले बगान मासेको चिया किसानकै भनाई छ ।

किसानका अनुसार बितेको दुई वर्ष अघिसम्म चियामा रोगको प्रकोप भयावह थियो । त्यहीबेला धेरै किसानले बगान मासे । त्यसबेला कूल क्षेत्रफलको ३० प्रतिशत जति चियाका बोट रोगाएर मरेका थिए । चियाका बोट मर्ने समस्या थपिंदै गएपछि जिल्लाका किसानहरुले विर्तामोडमै रहेको चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालयलाई सयौं पटक गुहारेका थिए । तर, ‘रिसर्च हुन बाँकी छ’ भन्दै पन्छिने कार्यालयको गैरजिम्मेवार शैलीले पनि उनीहरुलाई झन् हतास पारेको हो । ‘दुई वर्षयता आइपीएम विधि अपनाएपछि चिया रोगाउन कम भएको छ’, चिया किसानका सचिवसमेत रहेका निरौलाले भने ‘यदि पहिल्यै त्यो विधि थाहा भएको भए धेरै किसानले बगान मास्नु पर्ने थिएन । तर, मूल्यको विवादले भने सबैलाई सताएकै छ ।’

जानकारहरुका अनुसार सामान्यतः एउटा चियाको बोटको सरदर आयु ७० देखि ८० वर्षसम्मको हुन्छ । त्यसले ४० देखि ५० वर्षसम्म राम्रो उत्पादन दिन्छ । तर, अनेकौं समस्याले गाँजिएका किसान १० वर्ष नपुग्दै बगान मास्ने अवस्थामा पुग्दैछन् । सहर नजिकै बगान भएका र बाटोले छोएको ठाउँमा चिया खेती भएका किसानहरु भने चिया मासेर प्लटिङसमेत गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News