अदुवाले राम्रो मूल्य पाएपछि किसान हर्षित


 


तेह्रथुम, मंसिर १२

पूर्वी नेपालका किसानले उत्पादन गरेको नगदेबाली अदुवाले यस वर्ष राम्रो मूल्य पाएको छ । विगतका वर्षहरुमा उत्पादित अदुवाले मूल्य नपाउँदा निराश बन्ने गरेको किसान यस वर्ष भने हर्षित भएका छन् ।

गतवर्ष मूल्य नपाएपछि खेती घटाएका किसान यो वर्ष मूल्यवृद्धि भएपछि पुनः अदुवा खेतीप्रति आकर्षित भएका छन् । अहिले किसानको बारीबाटै धमाधम व्यापारीले अदुवा उठाइरहेका छन् ।

गतवर्ष प्रतिकिलो १० देखि १५ रुपैयाँका दरले अदुवा बिक्री गरेका किसानले यस वर्ष ४० देखि ५० रुपैयाँ पाइरहेको व्यापारी दुर्गा भण्डारीको भनाइ छ । नेपालमा उत्पादित अदुवाको मुख्य बजार भारत हो ।

तेस्रो मुलुकतर्फ निकासीका लागि सरकारी पहल नहुँदा मूल्यमा उतार चढाव भइरहेको र समस्या आएको व्यापारीहरु बताउँछन् । किसानहरुले तेस्रो मुलुकतर्फ पनि अदुवा निर्यात गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । तेह्रथुममा मात्रै १ हजार ६७ हेक्टर क्षेत्रफलमा व्यावसायिक अदुवा खेती हुँदै आएको छ ।

प्रकाशित मिति: १२ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्