नेपाली सुन्तलाले कोलकातावासीको मन जित्यो



– चन्द्रकला भण्डारी

कोलकाता, भारत, मंसिर २३

सुन्तला सम्झिने बित्तिकै कसको मुख रसाउँदैन होला ! पाकेको सुन्तलाको रसिलो केस्रा खाँदा गुलियो मात्र हुँदैन, अनेकन भिटामिन तत्वले भरिपूर्ण यो फल बालवृद्धा सबैका लागि प्रिय र अमृततुल्य मानिन्छ ।

फलहरूको समेत राजा मानिने सुन्तला नेपालको पहाडी भू–भागमा फल्छ । अझ इलामको सलकपुर, धनकुटाको खोकु छिन्ताङ र भोजपुरको दिङ्लामा फल्ने सुन्तलाको स्वादका बारेमा धेरै चर्चा हुने गर्छ ।

नेपालको सुन्तलाले अब मुलुक बाहिर समेत चर्चा पाउन थालेको छ । भारतको पर्यटकीय शहर कोलकातामा जारी हिमालयन ओरेन्ज टुरिजम फेस्टिबल (सुन्तला महोत्सव)मा नेपाली सुन्तलाले भारतीय ग्राहकहरूलाई मोहनी नै लगाएको कोलकाताकी प्रसिद्ध सामाजिक कार्यकर्ता गीताली लहरी बताउनुहुन्छ ।

“साह्रै मिठो, ठूलो र गुलियो लाग्यो,” उहाँले महोत्सवको नेपाली स्टलमा सुन्तला खाइसकेपछि भन्नुभयो – “नेपालको भाषा, संस्कृति र प्राकृतिक सौन्दर्यले जस्तै सुन्तलाले पनि मोहनी पो लगाउने रहेछ ।”

पहाडमा फल्ने सुन्तला खान भारतीय प्रसिद्ध महाकवि रविन्द्रनाथ टैगोर उसबेला कालिम्पोङको मोङ्पु जाने गरेको पुरानो कथा सुनाउँदै उहाँले करीव डेढ करोड भन्दा बढी जनसङ्ख्याको बसोबास रहेको पश्चिम बङ्गालको राजधानी कोलकाताका बासिन्दा सुन्तला भनेपछि हुरुक्कै हुने बताउनुभयो ।

कोलकाताको साल्टलेकस्थित सबैभन्दा बढी आवागमन हुने सिटी सेन्टरमा मङ्सिर २१ गते शुरु भएको सुन्तला महोत्सव आजसम्म सञ्चालन हुनेछ । तर, तीन दिनमै सुन्तलालगायतका नेपाली घरेलु उत्पादनले उत्तरपूर्वी भारतको कोलकाता, दार्जीलिङ, सिक्किम र अरुणाञ्चल मात्र नभएर भुटान, बङ्गलादेश र म्यान्मारका पर्यटकको ध्यान खिच्न सफल भएको छ ।

कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्याल सुन्तलाको मात्र नभएर नेपालको पर्यटनका बारेमा प्रचार गर्न सके प्रदेश नं १ सँग सिमाना जोडिएको ९ करोड जनसङ्ख्या रहेको पश्चिम बङ्गालबाट नेपालले पर्यटक भित्र्याएर ठूलो लाभ लिन सक्ने बताउनुहुन्छ ।

सुन्तला महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले नेपाल विश्वकै अनुपम प्राकृतिक सङ्ग्रहालय भएको चर्चा गर्दै पश्चिम बङ्गालका पर्यटकहरूलाई धर्म र संस्कृतिसमेत मिल्दोजुल्दो भएका कारण नेपाल घुम्न जानका लागि आह्वान गर्नुभएको थियो ।

नेपाल, भारत, भुटान, म्यान्मार र बङ्गलादेशको ग्रामीण पर्यटन र उत्पादनको प्रचारप्रसारका लागि सन् २०१० देखि हरेक दुई वर्षमा दार्जीलिङको एशोसिएशन फर कन्जरभेशन एन्ड टुरिजम (एसिटी)ले सुन्तला महोत्सवको आयोजना गर्दैआएको छ ।

निजी क्षेत्रको पहलमा भइरहेको यो महोत्सवमा शुरुका वर्षदेखि नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पूर्वी नेपालको ग्रामीण पर्यटनका अभियन्ता एवम् ग्रीन जेनेरेशन झापाका अध्यक्ष अर्जुन कार्कीले गर्दैआउनु भएको छ । उहाँकै नेतृत्वमा यसपटक कोलकाताको महोत्सवमा प्रदेश नं १ को तर्फबाट भोजपुर, धनकुटा, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम र झापाबाट सुन्तलालगायतका ग्रामीण उत्पादन बोकेर ८२ जनाको टोली सहभागी भइरहेको छ ।

अहिलेसम्मका सबै सुन्तला महोत्सवमा महत्वका साथ नेपालको सहभागिता रहेको जनाउँदै ग्रीन जेनेरेशन झापाका अध्यक्ष कार्की भन्नुहुन्छ – “भारत, भुटान र म्यान्मारको जनस्तरसम्म नेपाली पर्यटन र उत्पादनको प्रचार पुर्याउन यो महोत्सव हाम्रा लागि बरदान सावित हुँदै आएको छ ।”

महोत्सवमा नेपालीहरूलाई सबैभन्दा अगाडिको भागमा स्टल राख्ने अवसर प्रदान गरिएको छ । नेपाली स्टलमा राखिएको धनकुटाको खोकु छिन्ताङ, इलामको सलकपुर र भोजपुरको दिङ्लाका सुन्तलाले आगन्तुकहरूको ध्यान तानेको छ । बाँसको चोयाले बुनेको पेरुङ्गोमा राखिएका नेपाली सुन्तलाले महोत्सवमा अवलोकनकर्ताहरूको ध्यान खिचेको थियो ।

यहाँ नेपालका तर्फबाट पाँच वटा स्टल राखिएका छन् जहाँ सुन्तलासहित नेपाली ढाका र अल्लोको कपडा, जडीबुटी, अलैँची र अदुवालगायतका कृषि उत्पादनहरू बिक्री भइरहेको छ ।

धरानको सेछ (मगर भाषामा ‘सुन्दर’ अर्थ लाग्छ) ट्राभल्सले ५ नं स्टलमा ढाकाको टोपी र साडी चोली राखेको छ । ट्राभल्सकी सञ्चालक एलिना मगर स्टलबाट बङ्गाली र तेस्रो मुलुकका विदेशी नागरिकहरूले समेत ढाकाका टोपी र कपडा किनेर लगेको बताउनुहुन्छ ।

“स्टलमा आउने बङ्गालीहरूले नेपालमा घुम्नका लागि जाँदा प्याकेज टुरको कस्तो प्रबन्ध छ भनेर सोध्ने गरेका छन्,” धरान–१ निवासी पर्यटन व्यवसायी मगर महोत्सवको अनुभव सुनाउँदै भन्नुहुन्छ – “नेपालमा फस्टाउँदै गरेको घरबास (होमस्टे)ले उनीहरूलाई निकै आकर्षण गरेको मैले पाएँ ।”

इलामको रोङ गाउँपालिका वडा नं ६ सलकपुरमा रहेको जस्केलो सामुदायिक होमस्टेले महोत्सवमा पाँच क्विन्टल सुन्तला बिक्रीका लागि ल्याएको छ । होमस्टे समितिका अध्यक्ष लाखमान तामाङका अनुसार गाउँमा प्रतिकेजी रु १०० मा बेच्ने गरिएको सुन्तला कोलकातामा प्रतिकेजी रु १६० मा हारालुछ बिक्री भइरहेको छ । महोत्सवमा बेच्न भनेर धरानको क्षेत्रीय कृषि थोक बजारका तर्फबाट २०० केजी धनकुटे खोकु छिन्ताङको सुन्तला ल्याउनुभएकी कल्पना बस्नेतले यति मिठो सुन्तला फल्ने गाउँ चाहीँ कस्तो होला भनेर धेरै बङ्गाली आगन्तुकले घुम्न आउनका लागि जिज्ञासा राखेको बताउनुभयो ।

ताप्लेजुङको प्रसिद्ध पाथिभरा देवीको मन्दिरका बारेमा पनि महोत्सवमा प्रचार गरिएको पाथिभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले जानकारी दिनुभएको छ । ताप्लेजुङबाट प्रतिनिधित्व गरेको नेपाली टोलीले अलैँची, अदुवा, ग्रीन टी, जिम्मु, छुर्पी, अम्लिसोको कुचो, अल्लोको कपडा लगायतका ग्रामीण उत्पादनहरू बिक्रीमा राखेको छ ।

सन् २०१० देखि लगातार भारतको विभिन्न शहरमा आयोजना भइरहेको सुन्तला पर्यटन महोत्सव आगामी वर्ष नेपालमा लैजान चाहेको आयोजक एशोसिएशन फर कन्जरभेशन एन्ड टुरिजमका अध्यक्ष राज बसुले बताउनुभएको छ ।

“हिमालय शृङ्खलामा जोडिएका नेपाल, भारत, भुटान, म्यान्मार र बङ्गलादेशका ग्रामीण जनताको जीवनशैली, हावापानी र अवस्था मिल्दोजुल्दो छ,” बुद्धिज्ममा विद्यावारिधि गर्नुभएका भारतका ख्यातिप्राप्त पर्यटन अभियन्ता बसु भन्नुहुन्छ – “नेपाल पर्यटनका दृष्टिले सबैभन्दा बढी लोभलाग्दो छ । हामी नेपालको ग्रामीण पर्यटनलाई सीमापारिका मुलुकहरूसँग जोडिदिन चाहन्छौँ ।”

उहाँले हिमालयन ओरेन्ज टुरिजम फेस्टिबल एशियाको सबैभन्दा ठूलो ग्रामीण पर्यटन मेला भएको दावी पनि गर्नुभएको छ । महोत्सवमा सिक्किम, दार्जीलिङ, अरुणाञ्चल, कालिम्पोङलगायतको क्षेत्रमा फलेका सुन्तला, डल्ले खुर्सानीसमेत बिक्रीका लागि स्टलमा राखिएका छन् ।

अरुणाञ्चलस्थित ए वान ट्राभल मेनेजमेन्टका मालिक तोभिङ लेगोले कोलकाता महोत्सवले नेपाली उत्पादन र पर्यटन बारेमा समेत जान्ने अवसर जुटाइदिएको बताउनुभयो । उहाँका अनुसार अरुणाञ्चल र नेपालमा उस्तै उस्तै हावापानी र पहाडी भू–भाग छन् ।

आउँदो साल सुन्तला महोत्सव आयोजना गर्ने स्थान आयोजक संस्थाले तोकिसकेको छैन । तर, विभिन्न देशको ग्रामीण पर्यटन तथा प्रवद्र्धन अभियानमा जुटेकाहरूले चाहीँ अबको सुन्तला महोत्सव नेपालमै होस् भन्ने चाहना राखेको नेपाली ग्रामीण पर्यटन अभियन्ता अर्जुन कार्की बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News