नेपालमा भित्रिए अहिलेसम्मकै धेरै पर्यटक


 


काठमाण्डौँ, मंसिर २७

सन् २०१८ को ११ औं महिनासम्म अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । जनववरीदेखि नोभेन्बरसम्म नेपालमा १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डले यसलाई ऐतिहासिक उपलब्धी भनेको छ । यो संख्या अघिल्लो वर्ष सन् २०१७ को भन्दा १७ प्रतिशतले बढी हो । यो तथ्यांकमा अक्टोबर र नोभेम्बर महिनामा स्थलगत रुपमा आएका पर्यटकको संख्या सामेल छैन । यो संख्या पनि जोड्दा जनवरीदेखि नोभेम्बरसम्ममा नै करिब २३ प्रतिशत वृद्धि देखिने बोर्डले जनाएको छ ।

यो ११ महिनामा २ लाख ६० हजार पर्यटक भारतबाट आएका छन् । यस्तै यसवर्ष १ लाख ३४ हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । थाइल्याण्ड, जापान र उत्तर कोरियाबाट नेपाल आउने पर्यटकको संख्या पनि ठूलो छ । युरोप अमेरिकाबाट पनि नेपाल आउने पर्यटकको संख्या बढ्दो छ । ८२ हजार ८ सय अमेरिकन र ३३ हजार ५ सय अष्ट्रेलियन पनि नेपाल भित्रिएका थिए, ११ महिने अवधिमा ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी यो सफलताको श्रेय पर्यटनसम्बद्ध सबैलाई जाने बताउँछन् । ११ महिनामै १० लाख पर्यटक भित्रिनुले जेपाल भ्रमण वर्ष २०२० लाई बलियो आधार दिने पनि उहाँले बताउनुभयो ।

सन् २०२० मा नेपालले २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । तर, यो लक्ष्य सरकारका लागि चुनौतिपूर्ण छ । तर, भैरहवा अन्तर्राष्ट्रिय विमान स्थल बनिसक्ने भएकाले सीधै लुम्बिनीमा आउने बौद्ध पर्यटकले यो लक्ष्य भेट्न सघाउ पुर्याउने अपेक्षा सरकारको छ ।

प्रकाशित मिति: २७ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्