प्रविधि छाडेर हातैले चिया टिप्छन् किसान


 


– किरण पौड्याल
इलाम, पुस ५

पछिल्लो समय खेत जोत्नदेखि धान काट्नसम्म परम्परागत प्रविधि छाडेर आधुनिक शैली अपनाउन थालिएको छ । कम जनशक्ति र थोरै लागतमा काम हुने भएपछि सबै क्षेत्रमा अहिले प्रविधिको प्रयोग हुन थालेको हो । तर, यसको ठिक उल्टो चिया टिपाइमा भने प्रविधि प्रयोग घट्दै गएको छ ।

चियामा प्रविधि प्रयोग ‘झञ्झटिलो’ र धेरै लागत लाग्ने भएकाले प्रयोग गर्न छाडेको चिया किसान बताउँछन् । पछिल्लो समय अधिकाँश किसानले प्रविधि छाडेर हातैले चिया टिप्न थालेका छन् ।

मेशिनले टिपिएको चिया खस्रो हुने, फ्याक्ट्रीले लिन नमान्ने र टिपेपछि पनि फेरि केलाउनु पर्ने समस्याले मेशिन प्रयोग घटाउँदै लगेको सूर्योदय नगरपालिकाका चिया किसान लालबहादुर राई बताउनुहुन्छ । हातले चिया टिप्न मजदूरको समेत अभाव हुन थालेपछि उक्त मेशिन भित्र्याइएको थियो । तर, मेशिनबाट अपेक्षाकृत ‘काम खान’ नसकिएपछि फेरि हातले नै चिया टिप्न शुरू गरिएको चिया किसान राईको भनाइ छ ।

राईले भन्नुभयो – “हामीले हाम्रो सहकारी सापेन चिया उत्पादक सहकारी संस्थामार्फत तीन वटा मेशिन खरिद गरेका थियौं । तर, मेशिनको प्रयोग राम्ररी गर्न नसकेपछि पुनः हामीले छाड्दै लगेका छौं । तीनमा अहिले एउटा मात्र मेशिनको प्रयोग हुँदै आएको छ ।”

उन्नति परियोजना र चिया तथा कफी विकास बोर्डले चिया क्षेत्रमा सहयोग गर्दै मेशिन सहुलियतमा दिन थालेपछि किसानहरू प्रविधितर्फ उन्मुख भएका हुन् । मेशिन प्रयोगमा नै समस्या हुन थालेपछि किनेका मेशिन समेत प्रयोगविहीन बन्दै गएको किसानहरूको भनाइ छ ।

भौगोलिक विकटता र ‘प्लान्टेशन’ मा समस्या भएकाले चियामा मेशिनको प्रयोग गर्न नसकिएको अर्का चिया किसान तथा इलाम नगरपालिकास्थित ग्रीन हिल अर्थोडक्स प्रशोधन केन्द्रका टङ्क दाहाल बताउनुहुन्छ । पहाडी क्षेत्रमा पर्ने इलाम जिल्ला भौगोलिक रूपमा पनि बनावट एकै किसिमको नभएकाले मेशिन प्रयोगमा समस्या देखिएको दाहालको भनाइ छ । उहाँले भन्नुभयो – “मेशिन प्रयोगका लागि भौगोलिक बनावटसमेत समथर किसिमको हुनुपर्छ । हाम्रो चिया बगान भने यस्तो छैन । त्यही भएर हामीले चिया टिप्न मेशिन प्रयोग गर्न सक्दैनौं ।”

आफूले समेत चिया टिप्न केही वर्ष अघि मेशिन खरिद गरेको तर, प्रयोग गर्न नसकेपछि त्यतिकै मेशिन थन्क्याएर राखेको दाहालले बताउनुभयो । जिल्लामा चिया फाड्न मेशिन प्रयोग उपयुक्त मानिए पनि टिप्न भने प्रभावकारी नभएको हो ।

‘प्लान्टेशन’मै समस्या
यहाँको चियाको ‘प्लान्टेशन’ नै हातैले टिप्नका लागि गरिएकाले मेशिन प्रयोग अनुपयुक्त हुने केन्द्रीय चिया सहकारी सङ्घका सचिव रविन राईको भनाइ छ । यहाँको रोपण शैली नै परम्परागत भएकाले चियामा प्रविधि प्रयोग गर्न नसकिएको उहाँको बुझाइ छ । “हामीले मेशिनले टिप्न लहर मिलाएर नापेर भित्र पस्न सकिने गरी टिप्नुपर्छ तर, इलामको चिया भने त्यस्तो छैन,” राईले भन्नुभयो – “ यदि चिया टिपाइमा प्रविधि भित्र्याउने हो भने रोपण प्रक्रिया पनि मिलाउन जरुरी छ ।”

चिया टिपाइमा मेशिन प्रयोग गर्दा मजदूरको समस्या हल हुने र ‘बाँझी चिया’ टिप्न मात्र उपयुक्त हुने धेरैको बुझाइ छ । फ्याक्ट्रीको प्रयोगका लागि यहाँको चिया ‘दुई पात एक सुइरो’ आवश्यक पर्छ तर, मेशिनको माध्यमबाट भने त्यस्तो चिया टिप्न सम्भव हुँदैन । मेशिनको माध्यमबाट चिया टिप्दा कम्तीमा पनि तीन पातसम्मको मात्र चिया टिप्न सकिन्छ ।

चियाविज्ञ चन्द्रभूषण सुब्बा भने अर्थोडक्स चियामा मेशिन प्रयोग गर्नै नहुने बताउनुहुन्छ । अर्थोडक्स शब्दको अर्थ नै ‘हातले टिपेको चिया’ हुने भएकाले अर्थोडक्स चियालाई हातैले टिप्नु पर्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार एक पात एक सुइरो चियाबाट मात्रै पनि २५ किसिमका चियाका प्रकार निर्माण गर्न सकिन्छ । मेशिनले टिपेमा चियाको प्रकारमा ¥हास आउन सक्छ । तत्कालका लागि चियामा मेशिनको प्रयोगबाट सहजता आए पनि भविष्यमा चियाको गुणस्तर कम हुने चियाविज्ञ सुब्बाको दाबी छ ।

चिया तथा कफी विकास बोर्डका इन्द्र अधिकारीका अनुसार ठूलो खेती गर्दा र लामो पत्ती टिप्दा मेशिन बढी उपयुक्त हुने गरेको छ । सानो मुना चिया टिप्न भने अहिले पनि किसानले हातैले टिप्ने गरेका छन् । धेरै चिया टिप्न मेशिन उपयुक्त हुने अधिकारीको भनाइ छ ।

“धेरै चिया एकै पटक टिप्नु पर्ने भयो मजदूर उपलब्ध भएन भने मेशिन प्रयोग गर्न सकिन्छ तर, मसिनो चिया टिप्न खासै प्रयोग गर्न सकिदैँन,” अधिकारीले भन्नुभयो – “यो मेशिन सिटिसी चियाका लागि र समथर भू–भागका लागि बढी उपयुक्त हुन्छ ।”

मेशिन चलाउन दक्ष जनशक्ति नभएकाले पनि मेशिनको खरिद घट्दै गएको अधिकारीको बुझाइ छ । उहाँ भन्नुहुन्छ – “हामीले यो मेशिन चलाउन तालीमसमेत लिएका छैनौं । त्यही भएर पनि हो यो समस्या आएको १”

जिल्लामा चिया टिप्ने मेशिनको सङ्ख्या पनि घट्दै गएको पाइएको छ । जिल्लामा हाल १०० वटा जति मेशिन रहेको चिया तथा कफी विकास बोर्डको अनुमान छ । चिया तथा कफी विकास बोर्ड चिया विस्तार बोर्ड आयोजना फिक्कलका अनुसार बोर्डले मात्रै १७ वटा मेशिन वितरण गरेको थियो ।

तीन वर्षयता उन्नति परियोजनाबाट समेत उक्त मेशिन सहुलियत दरमा वितरण गरिँदै आइएको छ । गत वर्ष १२ वटा मेशिन उन्नतिबाट वितरण गरिएको उन्नतिका कृषिविज्ञ केशव सिलवालको भनाइ छ । जिल्लाका फिक्कल, कोल्बुङलगायत झापाका सीमावर्ती क्षेत्रमा मेशिन प्रयोग बढी देखिएको छ ।

चिया फाड्न अझै पराम्परागत प्रणाली

यहाँका किसान चिया फाड्न भने अझै पनि पराम्परागत औजार नै प्रयोग गर्न बाध्य छन् । चिया टिप्न प्रविधि भित्रिए र केही प्रयोग भए पनि फाड्न भने परम्परागत हँसिया र खुर्पा नै प्रयोगमा ल्याइन्छ ।

विकसित मुलुकमा यस्तो मेशिनको प्रयोग व्यापक भइसके पनि नेपालमा नल्याइँदा समस्या भोग्नुपरेको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई बताउनुहुन्छ ।

चियाको माथिल्लो थोरै भाग काँटछाँट गर्न मेशिन प्रयोग गरिने भए पनि तल्लो र धेरै चिया फाड्न भने परम्परागत शैली नै अपनाउनु पर्छ । “चियाको माथिको भाग सामान्य काँटछाँट गर्न मात्र मेशिन प्रयोग गरिन्छ तर, पूरै फ्याङ्गै फाड्नु प¥यो भने सिक्कल र खुर्पाकै भर पर्नु पर्छ,” राईले भन्नुभयो ।

उहाँका अनुसार किसानका लागि आधाजसो जोखिम भने चिया फाड्न मै हुन्छ । किनकि राम्ररी काटँछाँट नगरेको खण्डमा चिया बिग्रिने भएकाले पनि चिया फाड्ने काममा बढी जोखिम मोल्नु पर्छ ।

चिया फाड्ने काममा समेत नयाँ प्रविधि अपनाउन सकिए चिया जोखिम धेरै घट्ने जिल्ला चिया उत्पादक सहकारी सङ्घका सचिव वेदनिधि पोख्रेल बताउनुहुन्छ । रासस

प्रकाशित मिति: ५ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्