भोजपुरमा जडीबुटीको तथ्याङ्क सङ्कलन हुँदै


 


भोजपुर, २१ पुस
जिल्लाका विभिन्न ठाउँमा खेती भइरहेका जडीबुटीको तथ्याङ्क सङ्कलन गर्न थालिएको छ ।

भौगोलिक स्थितिका कारण अब खेती गर्न सकिने जडीबुटीको समेत नामावली सङ्कलन गरिएको छ । जिल्लामा चिराइतो, सतुवा लोठसल्ला, टिमुर, पाखनवेत, बुढो ओखती, मजिटोलगायत जडीबुटीको व्यावसायिक रुपमा खेती भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

त्यस्तै सेतकचिनी, वनआलु, वनमुला, वनलसुन, विखुम्मा, धसिग्रे, बोजो कुट्की, पदमचालन, सुगन्धवाललगायतको खेती भए पनि व्यावसायिक खेतीका लागि कृषकलाई प्रोत्साहन गरिने भएको छ ।

जडीबुटी उत्पादक, सङ्कलक तथा व्यापारीसँग भएको अन्तक्र्रियामा जडीबुटीको मूल्य निर्धारण गर्न, जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न र उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिनसमेत सम्बद्ध व्यक्तिले माग गरेका छन् किसानबाट आएका सल्लाह सुझावका आधार बनाइ कार्ययोजना बनाएर समाधानमा लाग्ने डिभिजन वन अधिकृत हेमन्तप्रसाद शाहले प्रतिबद्धतासमेत जनाउनुभयो ।

उहाँले भन्नुभयो, “किसानसँग छलफल गर्दा धेरै समस्याबारे जानकारी भएको र यसको समाधानका लागि माथिल्लो निकायसँग कुरा गर्नाका साथै कार्ययोजना बनाएर काम गर्छु ।” किसानले जिल्लाको खावा, तिम्मा, हेलौछा, सिद्धेश्वर, गुप्तेश्वर, लेखर्क किमालुङलगायत स्थानमा जडीबुटी खेती गर्दै आएका छन् ।

प्रकाशित मिति: २१ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्