विनोद चौधरीको सिजी कम्पनीलाई मोवाइल सेवा सञ्चालन गर्न सर्वाेच्चले रोक्यो
काठमाडौं । सर्वाेच्च अदालतले ब्यवसायी विनोद चौधरीलाई सिजी कम्युनिकेसन प्रालि तत्काल सञ्चालन गर्न नदिन आदेश दिएको छ । केही दिनअघि सर्वाेच्च अदालतले सिजी कम्युनिकेसन प्रालिलाई मोबाइल सेवा सञ्चालन गर्न दिन आदेश दिएको थियो । आफ्नो पहिलो आदेश बदर गर्दै सर्वाेच्च अदालतले तत्काल सञ्चालन गर्न नदिन अन्तरिम आदेश दिएको छ ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सिजी कम्युनिकेसनको मोवाईल सञ्चालनमा रोक लगाएको छ । १२ पुसमा न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सिजीलाई मोवाईल सेवा सञ्चालन गर्न दिन आदेश दिएको थियो । जोशीको आदेश उल्टयाउँदै प्रधानन्यायाधीश राणाले मोवाइल सेवा सञ्चालनमा रोक लगाएका छन् ।
न्यायाधीश जोशीले सिजीलाई आधारभूत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको हुँदा अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यक पर्ने कुनै पनि कार्य गर्न नरोक्नू र सिजीलाई कुनै बाधा–अवरोध नगर्नू ।’ तर प्रधानन्यायाधीशको इजलासले त्यसलाई उल्ट्याएको छ ।
सर्वाेच्च अदालतले सिजीलाई टेलिफोन सेवा सञ्चालन गर्न दिन आदेश दिएपछि प्राधिकरण भ्याकेटमा गएको थियो । सिजी टेलिकमले आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमति माग गर्दै आएको भए पनि त्यसका लागि न्यूनतम मापदण्ड पुरा नगरेको भन्दै प्राधिकरणले मोबाइल सेवा सञ्चालनको अनुमति दिएको छैन। २०७४ जेठ १५ मा बसेको मन्त्रिपरिषदको बैठकले चौधरीको सिजीलाई टेलिफोन सेवा सञ्चालन गर्न अनुमति दिएको थियो ।
प्रकाशित मिति: ३ माघ २०७५, बिहिबार












