बुवाको उपचार खर्च जुटाउन सफारी चलाउँदै छोरी


 


उर्लाबारी, माघ ७

उनी विद्यालयको नियमित छात्रा हुन् । कक्षा १२ मा पढ्छिन् । १७ वर्ष पुगिन् । पढाइ औसत छ । शिक्षा संकाय लिएकी छन् । विद्यालय र घर आउजाउमा उनकौ दैनिक चल्दै थियो ।

हिजोआज दैनिकी फेरिएको छ । विद्यालय नियमित हुन छाड्यो । पुरै कक्षा लिन पाउदैनिन् । सुस्त मनस्थिती भएकी बहिनी, एउटा मृगौला निकालेर थलिएकी आमा अनि कलेजोमा समस्या आएपछि थलिएका बुवाको हेरचाह र परिवारको जिम्मेवारबोध थपिएको छ ।

९ बजे टिफिन हुन्छ । टिफिनमै घर (डुम्रे) फर्किन्छन् । खाना बनाउँछिन् । घरयासी काम सकेर सफारी निकाल्छिन् । कहिले सीमसारको गेट अगाडि त कहिले मंगलबारे चोकको सफारी स्टेशन अगाडि यात्रुको खोजीमा पुग्छिन् । दिनभर सफारी कुदाउँछिन् । कहिले काही सिमेन्ट पनि बोक्छिन् ।

साँझमा घर पुग्छिन् । यति गर्दा उनी दैनिक हजार रुपैयाँ कमाउँछिन् । कहिले काही त्यो पनि कमाउँदिनन् । परिवारको सम्पूर्ण खर्च सफारीबाट उठाउने कोसिस गरेकी छन् ।

उनी अन्य कोही नभएर उर्लाबारी–२ डुम्रेकी अम्बिका भट्टराई हुन् । बुवा बिरामी भएर थलिएपछि उनको काँधमा जिम्मेवारी थपिएको छ । उपचारका लागि १२ लाख खर्च हुने चिकित्सकले बताएपछि खर्च जोहोका लागि सफारी कुदाउन थालेकी हुन् ।

अम्बिका हिजोआज बुवाको उपचारका लागि सफारी कुदाउन थालेकी छन् । तीन वर्षसम्म बुवाको उपचार गर्दा जयजेथा सकिएपछि भट्टराई परिवारमा यतिबेला पीडा थपिएको छ ।

भरतपुर स्थित क्यान्सर अस्पतालले २२ दिनको अन्तमा १२ महिनासम्म एक लाख रुपैया प्रतिगोटा पर्ने सुई लगाएपछि रोग निको हुने जनाएको छ । खर्च जुटाउनका लागि उनले सफारी कुदाउन थालेकी हुन् । उनको यो संघर्षले जो कोहीको मन छुन सक्छ । अम्बिकाले आफ्नो बुवा नारायणप्रसादको उपचारमा सहयोग गरिदिनु हुन सबैलाई आग्रह गरेकी छन् ।

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्