जबर्जस्ती करणी मुद्दामा फरार वडाध्यक्षद्वारा आत्मसमर्पण


 


दमौली, माघ ७

जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले आज जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । ती युवतीले गत मङ्सिर ६ गते प्रहरीमा उजुरी दिएपछि वडाध्यक्ष रेग्मी फरार रहेका थिए ।

रेग्मीले गत कात्तिक १६ गते, त्यसअघि र पछि पनि आफूलाई पटक–पटक जबर्जस्ती बलात्कार गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् । रेग्मीलाई पक्राउ पुर्जी दिई आजै जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । वडाध्यक्ष रेग्मीले भने आफ्नो चरित्रमा दाग लगाएर राजनीतिक फाइदा लिन खोज्ने समूहले आफूलाई फसाउन खोजेको बताउँदै आएका छन् । रासस

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्