‘जापान भ्रमणमा जान नपाएपछि सहसचिवले प्रतिशोध साँधे’


 


काठमाडौं । खानेपानी मन्त्री विना मगरको निजी सचिवालयले मन्त्रालयका सहसचिव राजनराज पाण्डेले खानेपानी मन्त्री मगर र खानेपानी सचिवमाथि पूर्वाग्रह साँधेर बदनाम गरेको जनाएको छ । मन्त्री मगरको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा सहसचिव पाण्डे संघीयता विरोधी कुरा गर्दा प्रदेश नम्बर ७ बाट फिर्ता भएको र जापानमा हुने एउटा तालिममा जान नपाएपछि प्रतिशोध साँध्दै मिडियाबाजीमा उत्रिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मर्यादित सहसचिव पदमा रहेका व्यक्तिले पूर्वाग्रही र अनुशासनहीन भएर दिइएको प्रतिक्रिया अनुशासनहीनताको पराकाष्ठा हो र जिम्मेवारी नदिइएको विषय कपोलकल्पित र भ्रामक हो ।’

‘सहसचिव पाण्डेले प्रदेश नम्बर ७ मा संघीयता विरोधी तर्क गरेर कर्मचारी भाँड्न खोजेका थिए, भड्काउन खोजेका थिए,’ निजी सचिवालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले पाण्डेलाई ७ नम्बर प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा सचिवको कामकाजमा पठाउँदा मर्यादाविपरीत काम गरेको पाइएपछि सामान्य प्रशासन मन्त्रालयमार्फत पुनः खानेपानी मन्त्रालयमा फिर्ता पठाइएको र मन्त्रालयमा दरबन्दी नभएकाले शाखा तोक्न खोज्दा पाण्डेले नै मान्नु भएको थिएन ।’

खानेपानी मन्त्रीका निजी सचिव गुणराज श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाण्डे २०१९ को मार्च १८ मा जापानमा हुने लागेको कार्यक्रममा जान इच्छुक रहेर फाइल पेश भएको थियो, उनको आफ्नै सक्रियतामा विदेश जाने तयारीमा मन्त्रालयले अनावश्यक विदेश भ्रमण रोक्न खोज्दा सहसचिव पाण्डे पूर्वाग्रही भएर मन्त्रीज्यूलाई औँला ठड्याएर बाहिर निस्केको र त्यसैको प्रतिशोध साँध्दै अनेक लाञ्छना लगाएर मिडियाबाजीमा उत्रिएको पाइएकाले भ्रामक समाचारमा विश्वास नगर्न अपिल गर्दछौँ ।’

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्