मनकारी गिरी परिवार, जस्ले गरे बिद्यालयका लागि महायज्ञमै साढे १२ लाख नगद दान


 


दाङ, घोराही उपमहानगरपालिका–१३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार वनगाउँको आयोजनामा घोराहीमा जारी महायज्ञमा यहाँका एक परिवारले साढे १२ लाख नगद दान गर्नुभएको छ ।

महायज्ञ आयोजक मूल समितिका संयोजक घोराही उपमहानगरपालिका–१३ का विमला गिरीको परिवारले रु १२ लाख ५१ हजार दान गर्नुभएको हो ।

स्वर्गीय हजुरबुबा रणु गिरी, हजुरआमा तुलसा गिरी, ससुरा शुभान गिरी, सासु मीना गिरी र बुबा छविलाल योगी र आमा राधा योगीको स्मृतिमा महायज्ञ आयोजक मूल समितिका संयोजक विमला योगी, उहाँको श्रीमान् वरिष्ठ अधिवक्ता अनिरुद्र गिरी, छोरीहरु डा रञ्जु गिरी, इञ्जिनीयर आस्था गिरी र छोरा अवनिश गिरीले सो रकम विद्यालयको भौतिक पूर्वाधार विकासका लागि दान गर्नुभएको हो ।

यो महायज्ञमा हालसम्मकै सर्वाधिक राशि हो । सो रकमसहित आज छैठौँ दिन रु २७ लाख ३९ हजार ८६० दान सङ्कलन भएको महायज्ञका निर्देशक प्रा डा अर्जुन बुढाथोकीले जानकारी दिनुभयो । महायज्ञमा हालसम्म रु ६६ लाखभन्दा बढी दान सङ्कलन भएको पनि बुढाथोकीले जानकारी दिनुभयो ।

विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ २०७५’ को आयोजना गरिएको हो । महायज्ञको मुख्य वाचकमा बालयोगेश्वर रहनुभएको छ । महायज्ञमा दैनिक धार्मिक कार्य हुने गरेको छ ।

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्