कांग्रेस नेता पौडेलकै गृह जिल्लामा गोविन्दराज जोशीले बनाए समानन्तर कमिटी


 


तनहुँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राजनीतिक ‘काउण्टर’ दिने उशेश्यले कांग्रेसका पूर्व सहमहामन्त्री जोविन्दराज जोशीले समानन्तर कमिटी बनाएका छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध संगठित नेताहरुले मंगलबार दमौलीमा विशेष जिल्ला अधिवेशन आयोजना गर्दै डिल्लीराम अधिकारीको सभापतित्वमा समानन्तर कमिटी गठन गरेको हो । उक्त अधिवेशनले नेपाली कांग्रेसको विधान २०१७ दफा १० अनुसार विभिन्न क्षेत्र र वर्गबाट निर्विरोध पदाधिकारी तथा सदस्यहरु घोषणा गरेको छ ।

समितिको सचिवमा चिनु पोख्रेल, कोषाध्यक्षमा बालकृष्ण पौडेल र सदस्यहश्रमा महिला समूह क्षेत्र नं १ बाट बालकुमारी लोहनी र एलिसा गुरुङ, अन्य समूह क्षेत्र नं १ का नुरचन्द्र वाग्ले र सुकुमलाल गुरुङ, अन्य समूह क्षेत्र नं २ बाट ध्रुवकुमार श्रेष्ठ र ऋषिराम पोख्रेल, दलित समूह क्षेत्र नं २ बाट ओमबहादुर नेपाली र बुद्धिमान नेपाली, जनजाति समूह क्षेत्र नं १ बाट केशरबहादुर गुरुङ, जनजाति समूह क्षेत्र नं २ बाट नरेन्द्र थापा, अल्पसंख्यक समूह क्षेत्र नं १ बाट चित्तबहादुर थापा र क्षेत्र नं २ बाट इज्जत अलि मियाँ निर्विरोध निर्वाचित भएका छन् ।

विशेष जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले अहिलेको कांग्रेसको नेतृत्व इतिहासकै असक्षम भएको कारण विशेष अधिवेशनबाट नेतृत्व परिवर्तन गर्नु परेको बताएका छन् ।

कांग्रेसको किल्लाको रुपमा रहेको तनहुँमा २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसका सबै उम्मेद्वार पराजित हुनु कांग्रेसको नेतृत्व असमक्ष हुनुको प्रमाण रहेको जोशीले सो अवसरमा बताए । उनले आफ्नै जिल्ला भएर पनि नेता रामचन्द्र पौडेल जिल्लाबासी र कांग्रेसी कार्यकर्ता सबैको हुन नसकेको समेत आरोप लगाए ।

पार्टी कार्यालय जान रोक्यो प्रहरीले

विशेष अधिवेशन पश्चात् पार्टी कार्यालयमा पदस्थापन गर्ने जोशी समूहको नेताहूको प्रयास असफल भएको छ । बिहानैदेखि पार्टी कार्यालय घेराउ गरेर बसेको प्रहरीले उनीहरुलाई पार्टी कार्यालय भन्दा ५० मिटर परै रोकेर पार्टी कार्यालय प्रवेशमा रोक लगाएको थियो ।

प्रहरीले अघि बढ्न नदिएपछि नेता जोशीले सोही ठाउँबाट प्रहरी प्रशासनको आड लिएर कांग्रेस कार्यकर्तालाई आफ्नै पार्टी कार्यालय जान नदिएकोमा आपत्ति प्रकट गरेका छन् ।

यसकारण पौडेलप्रति आक्रामक बने जोशी

कांग्रेस नेता रामचन्द्र पौडेल र नेता गोविन्दराज जोशीबीचको समबन्ध विगतदेखि नै चिसो थियो । त्यसमा कांग्रेस नेता गोविन्दराज जोशीको पार्टी सदस्यता ५ वर्षको लागि खारेज गरिएपछि उनी पौडेलप्रति थप आक्रमक बनेर देखिएका छन् ।

तनहुँमा स्थानीय, प्रदेश र संघको निवार्चनमा पार्टीका आधिकारीक उम्मेद्वारविरुद्ध विद्रोही उम्मेद्ववार बनेको भन्दैं नेपाली कांग्रेसले जोशीको पार्टी सदस्यता खारेज गरेको थियो । पार्टीको विधान २०१७ संशोधित र परिमार्जितको धारा ४९ ९११० ख तथा नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४१ ९१० बमोजिम ५ वर्षका लागि पार्टी सदस्यता खारेज गरिएको जनाइएको थियो ।

गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध विद्रोही उम्मेद्वार बनेका पूर्व गृहमन्त्री गोविन्दराज जोशीसहित उनका प्रस्तावक र समर्थक हरिशरण पण्डित र रामदेव पन्त तथा समर्थकहरुको पनि पार्टी सदस्यता खारेज गरिएको थियो ।

नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेद्वारा पुस १९ मा पठाएको पत्र बमोजिम कांगेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी पत्रमा पार्टीका आधिकारिक उम्मेद्वारविरुद्ध विद्रोही उम्मेद्वार बनेका र त्यसका प्रस्तावक तथा समर्थकको पार्टी सदस्यता ५ वर्षका लागि खारेज गरिएको उल्लेख गरिएको छ । पार्टी सदस्यता खारेजीमा वरिष्ठ नेता रामचन्द्र पौडेलको दवाव रहेको बताउँदै आएका नेता जोशी अहिले पौडेलका विरुद्ध संगठन नै बनाएर शक्ति सञ्चयमा लागेका छन् ।

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्